काठमाडौं । चीनबाट बढी मूल्यमा मेडिकल सामग्री ल्याउने अर्थात बहुचर्चित ओम्नी प्रकरण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र भुसको आगोजस्तै सल्किएको छ ।
ओम्नी प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रै अर्को पक्षको निशानामा परेका छन् ।
मंगलबार देशवासीका नाउँमा सम्बोधन गर्दै भ्रष्टाचारको आरोपलाई बेमौसमी बाजाको संज्ञा दिएका प्रधानमन्त्रीले सोही दिन पार्टी बैठकमा भने यही विषयमा रक्षात्मक बन्नुप¥यो ।
पार्टीका शीर्ष नेताले ओम्नी प्रकरणमा सरकार चुकेको र पार्टीको बदनाम भएको भन्दै आलोचना गरेपछि उनले छानबिन भइरहेको बताएर उम्केका थिए ।
ओम्नी प्रकरणमा ओलीनिकट नेता ईश्वर पोखरेल, भानुभक्त ढकाल, विष्णु रिमाललगायत मुछिएका छन् ।
चीनबाट सामान खरिद गर्दा भ्रष्टाचार भएको भन्ने विषयमा आफूहरूले छानबिन हुनुपर्ने माग गरेको वरिष्ठ नेता झलनाथ खनालले सार्वजनिक रुपमै अभिव्यक्ति दिएका छन् ।
नेताहरुले सचिवालय बैठकमा अख्तियारमार्फत छानबिन गर्नुपर्ने र ती निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न लगाउनुपर्ने धारणा राखेपछि अनपेक्षित टिप्पणीका कारण प्रधानमन्त्री गम्भीर भएका थिए ।
कतिपय नेताले सरकारले सेनालाई आवश्यक सामग्री किन्न परिचालन गर्ने निर्णय गरेकोमा पनि आलोचना गरेका छन् । यसले नागरिक सरकार असफल भएको सन्देश जाने उनीहरुको तर्क छ ।
प्रतिक्रिया