काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चार महिनामा रेमिट्यान्स आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भएको हो।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढेको थियो । २०८२ को कात्तिक महिनामा मात्रै रेमिट्यान्स (विप्रेषण) आप्रवाह १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ भित्रिएको छ । यस्तो रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको सोही महिनामा १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भएर ४ अर्ब ८८ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ४५ हजार ९७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २७ हजार ८३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख ४७ हजार ४७८ र ९४ हजार १०५ रहेको थियो ।










प्रतिक्रिया