Logo

Banner-news

लकडाउन खुकुलोः उत्पादनमूलक उद्योग, निर्माण क्षेत्र र सीमित सेवा क्षेत्र सशर्त खुला !


GDP Nepal
   २४ बैशाख २०७७, बुधबार


काठमाडौं । जेठ ५ गतेसम्म लकडाउन बढाएको भन्दै आलोचित सरकारले चालू लकडाउन सशर्त खुकुलो बनाउने निर्णय गरेको छ । बुधवारको मन्त्रिपरिषद बैठकले उत्पादनमूलक उद्योग, निर्माण क्षेत्र र सेवा क्षेत्र सशर्त खुला गर्ने निर्णय गरेको हो ।

सरकारको निर्णयपछि डेढ महिनादेखि थलिएको आर्थिक गतिविधि केही बढ्ने भएको छ । शैक्षिक संस्थाहरु, गैर खाद्यवस्तु विक्रि गर्ने व्यवसायिक मल, सिनेमा घर, धार्मिक स्थल, होटल बार तथा रेष्टुरेण्ट, सैलुन लगायत अन्य मान्छेहरुको बढी भिड हुने क्षेत्रहरु भने खुला हुने छैनन् ।

अब भने औषधिजन्य वस्तुको उत्पादन, बिक्री वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्रि वितरण, निर्माणजन्य सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्रिवितरण गर्न पाउने निर्णय गरेको छ । सम्बन्धित स्थानीय तहमा गठन भएको समितिबाट अनुमति लिएर कृषि तथा पशुपंक्षी सम्बन्धि, खाद्यवस्तु र अन्य बाली लगाउने भित्र्याउने काम गर्न पाउने निर्णय गरेको छ ।

सरकारको निर्णयअनुसार फलफूल र दुग्धजन्य वस्तुको उत्पादन र बिक्री वितरण गर्न पाउने छन् । यस्तै, स्वास्थ्य सेवाका क्षेत्रहरु, भेटेरीनरी सञ्चालन, र पाठ्यपुस्तक बिक्री वितरण गर्ने पसल तथा ढुवानी गर्ने सवारीहरु जनक शिक्षा सामग्रीबाट अनुमति लिएर गर्न पाउने निर्णय गरिएको छ ।

यस्तै, उद्योग प्रतिष्ठान, विकास निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न पाउने निर्णय पनि सरकारले गरेको छ ।
राष्ट्रिय गौरबका आयोजनाहरु सञ्चालन गर्ने, जलविद्युत्, खानेपानी, विमानस्थल निर्माणका काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ । त्यसका लागि सम्बन्धित निर्माण कम्पनीले दैनिक रुपमा श्रमिकरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने, एकै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने सर्त राखेको छ ।

गिट्टी बालुवा उत्पादन गर्न पाइने निर्णय पनि सरकारले गरेको छ । बैंक तथा वित्तिय संस्थाहरुले बढीमा एक तिहाइ कर्मचारीबाट सेवा प्रदान गर्न सक्ने निर्णय पनि सरकारले गरेको छ। सार्वजनिक सेवाका क्षेत्रहरुमा एक चौथाई सवारीलाई मात्र पास उपलब्ध गराउने जनाइएको छ ।

सञ्चालनमा आउने विभिन्न उद्योग प्रतिष्ठानहरुले श्रमिकलाई छुट्टै स्थानमा बस्ने व्यवस्था मिलाएर काम गर्ने, स्थानीयसँग सम्पर्क नहुनेगरी खाजाको व्यवस्था गर्ने र त्यसको खर्च उद्योगहरुले व्यहोर्ने र कार्यस्थललाई नियमित स्यानिटाइजेसन गरी काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ। यस्तै इन्टरनेट, वर्कप लगायतका क्षेत्रहरुमा बढीमा ५ जना कामदार रहनेगरी सञ्चालन गर्न पाउने निर्णय पनि सरकरले गरेको छ ।

अन्तर्राष्ट्रिय सीमा नाकाहरु जेठ १८ गतेसम्म बन्द राख्ने निर्णय पनि सरकारले गरेको छ । सीमानाका खुला गरेपनि खाद्यान्न लगायत अत्यावश्यक सामग्री बोकेका सवारी भने सञ्चालन हुनेछन् ।

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह