काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हाजिर जमानतमा छुटेका छन् । उनलाई लामो समय थुनामै राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रयास सफल हुन सकेन ।
इजलासले मागेअनुसारको प्रमाण तत्काल प्राप्त नभएको र स्वास्थ्यलाई समेत कारण देखाउँदै धरौटीमा छाड्ने निर्णय सरकारी वकिलको कार्यालय, काठमाडौंले गरेको हो ।
सीआईबीले भने बयानसहितका काम अझै बाँकी रहेकाले म्याद थप गर्नका लागि लगेको थियो । स्वास्थ्यसम्बन्धी कारण समेत भएकाले म्याद थप गर्न सरकारी वकिलले इन्कार गरेको हो ।
अघिल्लो पटक म्याद थप गर्न लैजाँदा विशेष अदालतको इजलासले गरेको आदेश अनुसार थप प्रमाणहरू संकलन नभएपछि प्रहरीको मागअनुसार आदेश भएन ।
शेरचनसहित बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकको प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई प्रहरीले १४ मंसिरमा विजुलीबजारस्थित केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।










प्रतिक्रिया