काठमाडौं । कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेकी पोखराकी व्यवसायी मिलन थापाले आफूले रास्वपा प्रवेश गर्ने निर्णय गरे पनि कांग्रेससँग कुनै गुनासो नरहेको बताएकी छन् ।
‘आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएकी छु’ भन्दै उनले आफू झन्डै एक दशकदेखि नेपाली कांग्रेस पार्टीमा रहँदा उक्त पार्टीले जुन स्थान र भूमिका प्रदान गर्यो त्यसप्रति सदैव आभारी रहने बताएकी छन् ।
“नेपाली कांग्रेस पार्टीप्रति मेरो कुनै गुनासो भएर अर्को पार्टीमा प्रवेश गरेको भन्ने नबुझिदिनुहोला भनेर आग्रह पनि गर्न चाहन्छु,” उनले भनेकी छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीमा भएका धेरै साथीहरूको अनुरोध र आफ्नो सहजता लाई मध्यनजर गर्दै आफ्नै स्वनिर्णय गरी यस पार्टीमा प्रवेश गरेकी हुँ । अब यस राष्ट्रिय स्वतन्त्र पार्टीको उद्देश्य र घोषणापत्रमा मेरो आफ्नो इमान्दारिता र निष्ठता रहनेछ ।”
मिलन गण्डकी प्रदेशमन्त्री विन्दुकमार थापाकी भाइबुहारी हुन् । उनका पति ध्रुव थापा नाडा अटोमोबाइल्स एशोसिएसनका पूर्व अध्यक्ष हुन् ।
व्यावसायिक पृष्ठभूमिकी मिलनले राजनीतिलाई पेशा बनाउन नहुने भन्दै सच्चा मनले गर्ने हो भने राजनीति, राष्ट्रसेवा गर्ने सबैभन्दा नजिकको माध्यम हो भन्ने आफूलाई लाग्ने बताएकी छन् ।
आफू झन्डै डेढ दशक देखि विभिन्न सामाजिक संस्थाहरुमा रहेर समाज सेवामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको र अब समाज सेवासँगै राजनीतिक माध्यमद्वारा राष्ट्र सेवाका लागि पनि अग्रसर भएर अगाडि बढेको उनको भनाइ छ ।
“देशमा सुशासन र विकासका लागि मेरो पनि केही योगदान रहोस् भन्ने उद्देश्यका साथ म यस पार्टीमा प्रवेश गरेकी हुँ,” उनले भनेकी छन् ।










प्रतिक्रिया