काठमाडौं । अष्ट्रियन कल्चरल फोरम तथा नयाँ दिल्लीस्थित अष्ट्रियन दूतावासले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पुरस्कार प्राप्त चलचित्र मेहरुनीसाको विशेष प्रदर्शन प्रस्तुत गरेको छ । जसलाई अष्ट्रियन फिल्म निर्देशक सन्दीप कुमारले निर्देशन गरेका हुन् ।
उनले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा, अष्ट्रियन कल्चरल फोरम र नयाँ दिल्लीस्थित अष्ट्रियन दूतावासले भारत, बंगलादेश, भूटान, नेपाल तथा श्रीलंकामा रहेका अष्ट्रियाका मानार्थ वाणिज्य दूतावासहरूसँग सहकार्य गर्दै तथा नेपालस्थित अष्ट्रियाका मानार्थ वाणिज्य दूतावासको समन्वय र FWEAN (Federation of Women Entrepreneurs’ Associations of Nepal) को सहकार्यमा यो विशेष प्रदर्शन आयोजना गरेका हुन् ।
निर्देशक कुमारका अनुसार यो कार्यक्रम अष्ट्रियन संघीय युरोपेली तथा अन्तर्राष्ट्रिय मामिला मन्त्रालयको महिला अधिकार, समानता तथा सशक्तीकरणप्रतिको प्रतिबद्धतासँग मेल खाने पहल हो । यसले महिलाहरूको उपलब्धिको सम्मान गर्दै अष्ट्रिया–भारत सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य राखेको छ । नेपालमा उक्त चलचित्रको प्रदर्शन मिति १८ मार्च २०२६ मा काठमाडौँको छायाँ सेन्टरस्थित QFX सिनेमामा आयोजना गरिएको थियो । जहाँ करिब १५० जनाले अवलोकन गरेका थिए ।
९० मिनेट लामो यस चलचित्र मेहरुनीसा लखनउमा आधारित एक कथा हो । जसमा ८० वर्षीया एक विधवाले आफ्ना दिवंगत श्रीमानको प्रभावबाट मुक्त भई आफ्नै पहिचान पुनः स्थापित गर्ने प्रयासलाई देखाइएको छ ।
यस क्रममा उनले गहिरो रूपमा जरा गाडेका पितृसत्तात्मक मान्यताहरूलाई चुनौती दिँदै महिलाहरूका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गर्छिन् । चलचित्रमा भारतकी चर्चित चरित्र अभिनेत्री फर्रुख जाफरले आफ्नो जीवनको पहिलो मुख्य भूमिका ८८ वर्षको उमेरमा निर्वाह गरेकी छन् । उनको चार दशकभन्दा लामो करियरमा पीप्ली लाइभ, स्वदेस, सुल्तान, सिक्रेट सुपरस्टार र फोटोग्राफ जस्ता चलचित्रहरू समावेश छन् ।
मेहरुनीसामा उनको भूमिकाले महिलाहरूको संघर्ष र विशेष गरी उमेरदराज अभिनेत्रीहरूले मुख्य भूमिका पाउनुपर्ने चुनौतीलाई प्रभावशाली रूपमा प्रस्तुत गर्दछ । भियना निवासी लेखक तथा निर्देशक सन्दीप कुमार आफ्ना चलचित्रहरूमा पहिचान, आप्रवासन, गरिमा र समानताका विषयहरू उठाउनेका लागि परिचित छन् ।
उनका कृतिहरू विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शन भई अनेक पुरस्कारहरू प्राप्त गरिसकेका छन् । मेहरुनीसा को प्रिमियर भारतको अन्तर्राष्ट्रिय फिल्म महोत्सव (IFFI), गोवामा भएको थियो । त्यसपछि यो चलचित्र अष्ट्रियाको डियागोनाले, कोसोभोको प्रिस्टिना अन्तर्राष्ट्रिय फिल्म महोत्सव, क्यानडाको साउथ एशियन अन्तर्राष्ट्रिय फिल्म महोत्सव भ्यानकुभर, इटालीको ASTI अन्तर्राष्ट्रिय फिल्म महोत्सव तथा जर्मनीको इन्डियन फिल्म फेस्टिभल स्टुटगार्ट लगायत विभिन्न अन्तर्राष्ट्रिय महोत्सवहरूमा प्रदर्शन भइसकेको छ । जहाँ यसले उत्कृष्ट अभिनेत्री लगायतका पुरस्कारहरू प्राप्त गरेको छ ।










प्रतिक्रिया