Logo

Banner-news

कस्तो बिडम्बना ! प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको बचाउ परराष्ट्रले गर्नुपर्ने ?


GDP Nepal
   ३१ असार २०७७, बुधबार


काठमाडौं । मुलुकका कार्यकारी प्रमुखको अभिव्यक्तिले देशको नीतिका सम्बन्धमा पनि जनाऊ दिन्छन् । मन्त्रिपरिषदका प्रमुखसमेत भएकाले प्रधानमन्त्रीले गर्ने नीतिगत निर्णय मात्र नभइ उनले बोल्ने विषय पनि उत्तिकै संवेदनशील हुन्छन् ।

तर, प्रधानमन्त्री केपी शर्मा ओली यस मानेमा चुकेका छन् । उनले पौराणिक पात्र भगवान् राम र उनको जन्मभूमि अयोध्याबारे गरेको टिप्पणीको व्यापक आलोचना भएपछि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिनुपरेको छ ।

राजनीति र कुटनीतिमा यो उल्टो घटना भएको छ । परराष्ट्रका काम कारबाही र वक्तव्यबारे कुनै विवाद भए प्रधानमन्त्रीले स्पष्ट पार्छन् र त्यसपछि त्यो विषयले निकास पाउँछ । प्रधानमन्त्रीकै तहबाट आएको अभिव्यक्तिभन्दा आधिकारिक अरु हुनै सक्दैन । त्यसैले एक प्रकारले त्यो मुलुककै अभिव्यक्ति भन्न सकिन्छ ।

प्रधानमन्त्री ओलीको अभिव्यक्ति कुनै खोज अनुसन्धानका आधारमा भन्दा पनि मनगढन्ते देखिएपछि उनका समर्थकहरुलाई पनि यसको बचाउ गर्न हम्मे परिरहेको छ । नेपाल–भारत कुटनीतिक सम्बन्धमा नै यसले समस्या पर्ने देखिएपछि परराष्ट्रले विज्ञप्तिमार्फत यसलाई सच्याउने प्रयाश गरेको छ ।

त्यसो त परराष्ट्रको वक्तव्यले मात्र यो विषय सल्टिने अवस्था छैन । प्रधानमन्त्रीले माफी नै माग्नुपर्ने आवाज पनि उठिरहेको छ । भारतीय सञ्चारमाध्यमहरु मात्र नभइ सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) का नेताहरुले पनि ओलीको चर्को आलोचना गरिरहेका छन् ।
यता, परराष्ट्रले मंगलवार साँझ विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री ओलीको भनाइ कुनै राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको भावनामा आघात पु¥याउने उद्देश्यले नगरिएको जनाएको छ ।

ओलीको अभिव्यक्ति अयोध्याको महत्व र यसको सांस्कृतिक मूल्यलाई अवमूल्यन गर्न उद्यत नभएको मन्त्रालयको दाबी छ ।

राम र उनीसँग जोडिएका स्थानबारे विभिन्न किंवदन्ती र सन्दर्भहरू भएको उल्लेख गर्दै मन्त्रालयले प्रधानमन्त्री ओलीले त्यस विषयमा तथ्य पत्ता लगाउन रामायणमा आधारित विशाल सांस्कृतिक भूगोलबारे थप अध्ययन र खोजको महत्त्वबारे सामान्य रूपमा प्रकाश पारेको दाबी गरेको छ।

नेपाली भाषाका आदिकवि तथा नेपाली भाषारामायणका रचियता भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा सोमवार आयोजित एउटा कार्यक्रममा बोल्दै ओलीले रामको वास्तविक जन्मभूमि अयोध्या नेपालमै भएको र राम नेपाली राजकुमार भएको टिप्पणी गरेका थिए ।

प्रकाशित : ३१ असार २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह