Logo

Banner-news

लकडाउन पारिश्रमिक विवादमा ढकालको सफलता, रोजगारदाता र श्रमिक ‘वीन–वीन’


GDP Nepal
   १४ श्रावण २०७७, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद् सभापति चन्द्रप्रसाद ढकालको अग्रसरतामा रोजगारदाता र मजदुर युनियनबीच लकडाउन अवधिको तलबसम्बन्धी विवादको सहजै समाधान भएको छ । जसअनुसार मजदुरले चैतको पूरै र वैशाख तथा जेठको भने आधामात्र तलब पाउने छन् ।

वैशाख २ गते सम्पन्न रोजगारदाताहरूको छाता संस्थाको उच्चस्तरीय भेलाले लकडाउन अवधिको श्रमिकको पारिश्रमिक लगायतका विषयमा सुझाव पेश गर्न महासंघको रोजगारदाता परिषदका सभापति ढकाललाई जिम्मेवारी दिएको थियो । पारिश्रमिक लगायत कोभिड १९ को संक्रमणबाट उत्पन्न समस्या समाधानका लागि सुझाव शिफारिस गर्न श्रम मन्त्रालयको पहलमा गएको वैशाख २८ गते त्रिपक्षीय कार्यदल समेत गठन भएको थियो । सोही पृष्ठभूमीमै रहेर रोजगारदाता र ट्रेड युनियन महासंघहरू बीचको निरन्तर गृहकार्य पश्चात यो सहमति भएको हो ।

ढकाल महासंघ वरिष्ठ उपाध्यक्षका प्रत्यासी समेत हुन् । उनले यस विषयमा सतर्कतापूर्वक कदम चालेर रोजगारदाता र मजदुर युनियनबीच कसैको जितहार नहुने अर्थात विन–विन अवधारणामा सहमति गराउन सफल भएका छन् ।

सरकारले लकडाउन अवधिको पनि पूरै तलब दिनुपर्ने निर्णय गरेका कारण रोजगारदाता र मजदुर युनियनबीच केही महिनायता समझदारी बन्न सकेको थिएन । तर, ढकालले मजदुर युनियनलाई सहमतिमा ल्याएर हस्ताक्षर गराउन सफल भएका छन् भने यो निर्णयलाई सरकारले अनुमोदन गरेपछि मात्र लागू हुनेछ ।

मंगलबार राजधानीमा भएको कार्यक्रममा महासंघसहित रोजगारदाता संस्थाहरू नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र आवद्व ट्रेड युनियन महासंघहरू बीच लकडाउन अवधिको श्रमिकको पारिश्रमिक भुक्तानी लगायतका विषयमा नेपाल सरकार समक्ष सिफारिश गर्न द्विपक्षीय सहमति भएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को महामारीको रोकथामको लागि सरकारले जारी गरेको लकडाउनका कारण उद्योग र व्यवसाय बन्द रहेको समयको पारिश्रमिक दिन कठिनाई भएकोले लकडाउन अवधिको ५० प्रतिशत पारिश्रमिक दिने सम्बन्धमा रोजगारदाताहरूका तर्फबाट सरकारमा सुझाव पेश गरिएको थियो ।

सहमति अनुसार उद्योग प्रतिष्ठानले २०७६ चैत्र महिनाको पारिश्रमिक भुक्तानीको हकमा लकडाउन अवधि समेतका लागि साविक वमोजिम पूरा पारिश्रमिक भुक्तानी गरिने, श्रमिकको पारिश्रमिक वारे नेपाल सरकारको निर्णयको सन्र्दभमा २०७७ वैशाख महिनाको लागि श्रमिकको ५० प्रतिशत पारिश्रमिक भुक्तानी गरी फरफारक गर्ने र २०७७ जेष्ठ महिनाको हकमा लकडाउनको कारण काममा उपस्थित हुन नसकेका श्रमिकलाई पाउने पारिश्रमिकको ५० प्रतिशत मात्र भुक्तानी गर्ने सहमती भएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समुपस्थितिमा सम्पन्न सहमती हस्ताक्षर कार्यक्रममा सहमतीपत्रमा रोजगारदाताहरुका तर्फबाट महासंघको रोजारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, परिषदका उपसभापति भरतराज आचार्य, नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश कुमार अग्रवाल,नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले हस्ताक्षर गरेका छन् ।

यस्तै, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तर्फबाट संयुक्त ट्रेड युनियन समन्वय केन्द्र एवं नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका महासचिव एवं राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष लालकुमार लामा, नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडा, समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष नवराज दाहाल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष चिरागमान सिंह कुंवर, मधेशी ट्रेड युनियन महासंघ, नेपालका अध्यक्ष पल्टन ठाकुर र ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष हिकमत जंग भण्डारीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : १४ श्रावण २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह