काठमाडौं । गत आर्थिक वर्षमा मुलुकको व्यापारघाटा अघिल्लो वर्षको तुलनामा घटेको छ । आयात घटेको तर निर्यात बढेको अवस्थामा व्यापारघाटा वृद्धिको गति रोकिएको देखिन्छ ।
व्यापारघाटा कम हुनु अर्थतन्त्रका लागि सकारात्मक मानिए पनि देशको कुल वैदेशिक व्यापारको परिमाण नै घटेकाले यसले सकारात्मक परिणाम भने ल्याउने देखिँदैन । आन्तरिक उत्पादन वृद्धि नभएको र आयातसमेत घटेको अवस्थामा उपभोग कम भएको बुझ्न सकिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा कुल वस्तु निर्यात ०.६ प्रतिशतले वृद्धि भई ९७ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात १९.४ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारततर्फ ११.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ४३.५ प्रतिशत र १८.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, जडिबुटी, प्लाष्टिकका भाँडा, फलफुल लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा धागो, तयारी पोशाक, उनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ ।
केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा कुल वस्तु आयात १५.६ प्रतिशतले घटेर रु.११ खर्ब ९६ अर्ब ८० करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आयात १३.९ प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९.९ प्रतिशत, ११.५ प्रतिशत र ५.३ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा कच्चा पाम तेल, कच्चा सोयाविन तेल, रासायनिक मल, खाने तेल, कम्प्युटर तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एम.एस. बिलेट, सुन, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ वीरगञ्ज र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा कुल वस्तु व्यापार घाटा १६.८ प्रतिशतले संकुचन भई रु.१० खर्ब ९९ अर्ब ९ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा १३.५ प्रतिशतले वृद्धि भएको थियो । व्यापार घाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९.२ प्रतिशत रहेको छ ।
समीक्षा वर्षमा निर्यात–आयात अनुपात ८.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६.८ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया