Logo

Banner-news

ओली सरकारका तीन बजेट बनाएका खतिवडा भन्छन्ः शिक्षा र स्वास्थ्यमा बजेट अपर्याप्त !


GDP Nepal
   २५ आश्विन २०७७, आइतबार


काठमाडौं । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत तथा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्ला वर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन बढीरहे पनि यो पर्याप्त नभएको स्वीकार गरेका छन् ।

गैरआवासिय नेपाली संघ (एनआरएनए)ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनमा शनिबार डा. खतिवडाले स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि अध्ययनको काम भइरहेको बताए । खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारसमेत हुन् । उनले ओली सरकारका तीनवटा बजेट बनाइसकेका छन् ।

यद्यपि, स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन भएको र क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापनको काम समन्वय गरेरै भइरहेको खतिवडाको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीले अहिले अर्थतन्त्रका केही इन्डिकेटर राम्रा रहे पनि विपन्न वर्गलाई सरकारले के ग¥यो भन्ने प्रश्न रहेको बताए । उनले भने, ‘आम्दानी नै नहुने स्थिति छ, रोजगारी खोसिएको छ, अस्पताल गएर उपचार गराउनसक्ने अवस्था छैन, उहाँहरूका लागि सरकारले के ग¥यो ? यसबाट कसरी बाहिर निस्कने भनेर चिन्तन र रणनीति खोइ ?

कोभिडसँग लड्न पर्याप्त रकम जम्मा गर्न कांग्रेसले पहिले नै भनेको स्मरण गराउँदै जोशीले भने, ‘राहत प्याकेजका लागि बारम्बार भन्यौं। तर, सुनुवाइ भएन। यो अवस्थामा सडकमा जान पनि मिलेन।’ अर्थतन्त्र पुनरुत्थानका लागि योजनावद्ध ढंगबाट अघि बढ्नुपर्ने उनले सुझाव दिए ।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले कोभिड–१९ का कारण आर्थिक संकट गहिरिँदै गएको बताए । अर्थतन्त्र विरामी हुँदा प्रत्येक क्षेत्रलाई छुट्याएर सोही अनुसार उपचार गर्न सरकारले सर्भे गर्नुपर्ने उनले सुझाव दिए ।

उनले भने, ‘देशलाई अझै धनी बनाउनुपर्छ भनेर कोभिड–१९ ले देखायो। धनी देशहरू व्यवसाय र रोजगारी जोगाउन जति पनि खर्च गर्नसक्ने सामर्थमा पुगे । ‘हाम्रो देशको आर्थिक अवस्था पनि राम्रो भएको भए व्यवसाय र रोजगारी जोगाउन सकिन्थ्यो।

अहिलेको संकटको बेला ठूला व्यवसायीले नाफा नकमाउदा पनि खासै समस्या नपर्ने उल्लेख गर्दै महतोले साना र मझौला उद्योगलाई जोगाउन सरकारले आधा नइ पूरै दिल खोलेर सहयोग गर्नुपर्ने बताए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले गैरआवासीय नेपालीसँग रहेको ज्ञान, सिप र भिजनको समुचित प्रयोग गरेर देश विकासमा लगाउनुपर्ने बताए । समन्वय, सहकार्य गरेर दिगो विकास लक्ष्य प्राप्तिमा लाग्नुपर्ने उल्लेख गर्दै कँडेलले कोभिड–१९ ले प्राथकिताका क्षेत्र परिवर्तन गरेको बताए ।

साइप्रसका पूर्वअर्थमन्त्री डा. मिचेल सारिसले कोभिड–१९ संकटको समयमा स्वास्थ्यका दृष्टिकोणबाट अगाडि बढेका देशले राम्रो काम गरेको बताए । ‘अहिलेको अवस्थालाई राजनीतिज्ञको नेतृत्वबाट भन्दा चिकित्सा क्षेत्रबाट एकरुपता र पारदर्शी रुपमा काम गर्न सकेको उनको भनाइ छ । उनले भने, जुन नेतृत्वले स्वास्थ्यको दृष्टिबाट अर्थनीति बनाएका छन्। तिनीहरुले व्यापारमा राम्रो गरेको देखिन्छ ।

एसियन इन्स्च्यिुट अफ टेक्नोलोजी, स्कुल अफ इन्भारोमेन्ट, रिसोर्स एन्ड डभलपमेन्टका प्रा.डा. शोभाकर ढकालले कोभिड–१९ का कारण दिगो विकास लक्ष्यमा अझ चुनौती थपिएको बताए । १७ वटा गोलमध्ये धेरैजसो लक्ष्य पूरा भएको उनको भनाइ छ। उनका अनुसार अनलाइन व्यापार, इ–बैंकिङ क्षेत्रमा अवसर बढ्दै गएको छ।

प्रकाशित : २५ आश्विन २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह