काठमाडौं । नेपाल चेम्बर अफ कमर्स स्थापनाको ७० औं वर्षमा प्रवेश गरेको छ । मुलुकको चेम्बर आन्दोलनको पहिलो संगठित संस्था चेम्बरले कोरोना महामारीका कारण ७० औं वार्षिकोत्सव भव्य रुपमा मनाउन नसके पनि यसका अग्रज तथा अभियन्ताहरुको स्मरण गर्दै भर्चुअल उत्सव मनाइरहेको छ ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार मुलुकका साना, मझौला तथा ठूला उद्योगी व्यवसायीको एकमात्र फोरमका रुपमा चेम्बरले विगतदेखि नै आवाज उठाउँदै आएको छ । चेम्बरले निजी क्षेत्रको हक हित संरक्षण र प्रवद्र्धनसँगै राज्यको आर्थिक सामाजिक विकासमा सारथि र सहयात्रीका रुपमा समेत निरन्तर योगदान दिँदै आएको छ ।
चेम्बरले राज्यलाई नीति निर्माणमा योगदानदेखि दैवीप्रकोप लगायतका आवश्यक परेको बेला आर्थिक सहयोग पनि गर्दै आएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा वृहत नेटवर्क तथा समग्र निजी क्षेत्र र आर्थिक विकासका लागि वस्तुनिष्ठ सुझावको पहिचान बनाएका कारण चेम्बर राज्यको पनि पहिलो रोजाइमा पर्ने गरेको छ ।
चेम्बर अध्यक्ष श्रेष्ठ भन्छन्– चेम्बरको स्थापना मुलुकको आर्थिक सामाजिक विकासका लागि नै भएको हो, व्यवसायीको हितका लागि मात्र नभइ समग्र देशकै आर्थिक समुन्नतिको लागि अग्रजहरुले सुरुआत गरेको चेम्बर अभियान आज ७० वर्ष प्रवेश गरेको अवसर निश्चय पनि ऐतिहासिक हो र हाम्रो पुस्ताका लागि योभन्दा अर्को सुखद अवसर हुनै सक्दैन त्यसैले आजको यस ऐतिहासिक दिनमा म सम्पूर्ण अग्रजहरुप्रति हृदयदेखि नै नमन गर्न चाहान्छु ।
चेम्बरका अग्रजहरुको स्मरण गर्दै अध्यक्ष श्रेष्ठ भन्छन्, हाम्रा अग्रजहरुले कठिन परिस्थितिमा पनि चेम्बर अभियानलाई मुलुकको विकासको इन्जिनका रुपमा अघि बढाउनुभयो र चेम्बरको छविलाई सधैँ उज्वल बनाइराख्नुभयो । आजको दिनमा हामी उहाँहरुले देखाउनुभएको सत्मार्गमा हिँड्ने प्रण गर्दछौं । आज चेम्बरले आफ्नो यात्राको सातौं दशकसम्म आइपुग्दा चेम्बरलाई यस रुपमा ल्याइपु¥याउन नेपाल सरकार, राजनीतिक दलहरु, स्वतन्त्र नीति निर्माताहरु, कुटनीतिक नियोग, विकास साझेदारहरु, नागरिक समाज, पत्रकार मित्रहरुलगायत सबैको अटुट साथ र सहयोगको परिणाम हो भन्ने हामीले महशुस गरेका छौं ।
त्यसो त राजनीतिक परिवर्तनसँगै मुलुकले संघीय गणतन्त्रात्मक व्यवस्था अंगीकार गरेको छ । चेम्बर पनि यसलाई आत्मसात गर्दै आफैंले जन्माएको संस्था नेपाल उद्याृग वाणिज्य महासंघलाई छाडेर देशव्यापी अभियान विस्तारको चरणमा छ । यस क्रममा चेम्बरले सांगठनिक विस्तारलाई आक्रामक रुपमा अगाडि बढाइरहेको देखिन्छ ।
चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लका अनुसार हालसम्म मुलुकका सातवटै प्रदेश, ६७ वटा जिल्ला र ४६ वटा नगर चेम्बर गठन भइसकेको छ । चेम्बर अभियानमा जोडिन चाहने व्यवसायीको चाहना देशव्यापी रहेको मल्ल बताउँछन् ।
महासंघको विकल्प बन्ला ?
वरिष्ठ उपाध्यक्ष मल्लका अनुसार चेम्बरलाइ महासंघको संरचनामा प्रदेश, जिल्ला, नगर तथा गाउपालिका तह र वस्तुगत संघ, आवद्ध संघ तथा द्विराष्ट्रिय संघ संस्थाहरुसम्म सदस्यहरु बिस्तार भएको छ ।
चेम्बरले महासंघसँगको सहयात्रा टुंग्याए पनि निश्चित एजेन्डमा भने सहकार्य गरिरहेको छ । हालै कोरोना महामारीपछिको विषम अवस्थामा अर्थतन्त्र पुनस्र्थापनादेखि मजदुरको सेटलमेन्टसम्ममा सहकार्य गरेको थियो । तर, चेम्बर अभियानलाई महासंघबाट अगल गराएर देशव्यापी बनाउने लक्ष्यमा अगाडि बढिरहेको चेम्बर अफ कमर्सले आफूलाई महासंघको विकल्पका रुपमा प्रस्तुत गर्न खोजेको देखिन्छ ।
उद्योग वाणिज्य महासंघभित्र देखिने सदाबहार राजनीतिकरण र एक अर्काको खुट्टा तान्ने प्रवृत्तिका कारण निजी क्षेत्रका समग्र एजेण्डा नै ओझेलका परेपछि वाक्क भएका व्यवसायीलाई आफ्नो संगठनमार्फत सक्रिय बनाउने प्रयासमा चेम्बर देखिन्छ । यस हिसावले चेम्बर तत्काल महासंघको प्रतिस्पर्धी नै बन्न चुनौतीपूर्ण भए पनि केही वर्षभित्रै यसले आफूलाई महासंघको विकल्पका रुपमा स्थापित गर्नसक्ने सम्भावनालाई भने इन्कार गर्न सकिँदैन ।
चेम्बर दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्सले जारी गरेको विज्ञप्तिको पूर्णपाठ
परिचयः
वि.स. २००७ सालमा स्थापित नेपाल चेम्बर अफ कमर्स नेपालको सबै भन्दा पुरानो र अग्रणी वाणिज्य संगठन हो । बि.स २०१२ (सन् १९५५) मा उद्योग र वाणिज्य सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको थियो । चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको बिकाश र आर्थिक सम्बृद्धि तथा अन्य ब्यावसायीक गतिविधिका क्षेत्रमा यस संस्थाले अग्रणी एवम महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गरिरहेको छ । यसका साथै नेपाल चेम्बर अफ कमर्स “चेम्बर आन्दोलन” लाई अभियानको रुपमा विस्तार गर्न र व्यवसायिक क्षेत्रको सशक्तिकरणका लागि विभिन्न गतिविधिहरू प्रोत्साहित गर्न समेतसमर्पित रहेको छ । चेम्बरले निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गरिरहेको छ । नेपाल चेम्बर अफ कमर्सले प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आवद्ध संघ लगायत द्धिपक्षीय वाणिज्य तथा उद्योग संघहरुको प्रतिनिधित्व गर्दछ । रजिष्टर्ड फर्महरु, व्यापार र उद्योग क्षेत्रका संघ संस्था, द्धि पक्षीय व्यापार तथा उद्योग संघ चेम्बरसँग आवद्ध रहेका छन्। । नेपाल चेम्बर अफ कमर्सले ७०वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सहरुसंग आर्थिक कृयाकलाप विस्तार गर्न समझदारी पत्र मार्फत सम्बन्ध स्थापित गरेको छ ।
चेम्बरको सात दशकको कोशेढुङ्गा
१. वि.स. २००७ सालमा “वणिक मण्डल” गठन भई चेम्वरको पहिलो सुरुवात ।
२. वि.स. २००९ साल असोज २७ गते अखिल नेपाल व्यापार संघको नामवाट दर्ता ।
३. वि.स. २०१० साल कार्तिकमा प्रथम साधारण सभाले नाम परिवर्तन गरी नेपाल चेम्बर अफ कमर्स कायम ।
४. वि.स.२०१२ तथा वि.स.२०१६ मा क्रमश ः मित्र राष्ट्र चीनका महामहिम प्रधानमन्त्री श्री चाउ एन लाइ तथा मित्र राष्ट्र भारतका प्रधानमन्त्री श्री जवाहरलाल नेहरुको सम्मानमा स्वागत समारोह आयोजना गरिएको ।
५. वि.स.२०१९ साल जेष्ठ १९ गते राष्ट्रिय निर्देशन ऐन २०१८ अन्र्तगत राष्ट्रिय निर्देशन मन्त्रालयमा व्यवशायिक संगठनको रुपमा सोहि नाममा दर्ता ।
६. बि.सं. २०२२मा नेपाल चेम्वर अफ कमर्सको पहलमा ू उद्योग वाणिज्य संघ ू(हाल नेपाल उद्योग वाणिज्य महासंघ ) स्थापना गरिएको ।
७. वि.स.२०३४ सालमा विभिन्न कार्यक्रम गरि चेम्वरको रजत महोत्सव सम्पन्न ।
८. वि.स.२०४२ सालमा चेम्वर भवनको निर्माण ।
९. बि.सं. २०५२ सालमा त्रिभुवन बिमान स्थलमास्व. श्री ५ वीरेन्द्रको गद्धी आरोहण रजत महोत्सवको उपलक्षमा एअरपोर्ट गेट ९हाल न्यमिभल न्बतभ०निर्माण गरिएको ।
१०. वि.स.२०५६ देखि निकासीमा उल्लेख्य योगदान पु¥याउने संस्था तथा कम्पनीहरुलाइ सम्मान गर्ने परम्परा सुरुआत ।
११ं वि.स. २०५९ सालमा नेपाल चेम्बर अफ कमर्स स्थापनाकालको ५० औ वर्षमा स्वर्ण महोत्सवको अवसरमा बिभिन्न प्रवद्र्धनात्मक कार्यक्रम आयोजना ।
१२. वि.स.२०६२ सालमा चेम्वरद्धारा ताहाचलमा नयां भवन खरिद ।
१३. वि.स. २०६९ सालमा सम्माननीय राष्ट्रपति रामवरण यादवज्यूको प्रमूख आतिथ्यतामा नेपाल चेम्बर अफ कमर्स स्थापनाकालको ६० औ वर्षमा हिरक महोत्सवको अवसरमा बिभिन्न प्रवद्र्धनात्मक कार्यक्रम आयोजना ।
१४. मुलुकभरका उद्योगी तथा ब्यवशायीहरुको संलग्नता भएको नेपाल चेम्वर अफ कमर्सको बिधान मन्त्रिपरिषद्बाट बि.सं. २०७४ सालमा संसोधन भइ तदनुरुप नेपालको संघीय प्रणाली बमोजिम नेपाल चेम्बरलाइ महासंघको संरचनामा प्रदेश, जिल्ला, नगर तथा गाउपालिका तह र वस्तुगत संघ, आवद्ध संघ तथा द्धि राष्ट्रिय संघ संस्थाहरुसम्म सदस्यहरु बिस्तार भएको । यस प्रकार ७ वटै प्रदेश, ६७ वटा जिल्ला र ४६ वटा नगर चेम्वर गठन भइसकेको छ ।










प्रतिक्रिया