Logo

अर्थनीति

मन्त्री भर्सेस मन्त्रीः लालबाबु पण्डितविरुद्ध रवीन्द्र अधिकारी


appharu
   ३ असार २०७५, आइतबार


काठमाडौं । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित गैरआवासीय नेपालीप्रति निकै आक्रामक छन् । ग्रीनकार्ड र पीआरबाहक नेपालीहरुलाई कुनै पनि सुविधा दिननहुने उनको अडानका कारण नेपालका ‘राष्ट्रवादी’माझ उनी लोकप्रिय पनि छन् ।

पण्डितले विगतमा पीआरवाहक कर्मचारीलाई कारवाही सुरु गरेपछि उनको लोकप्रियता बढेको हो । सोही लोकप्रियताको बलमा उनले कांग्रेसका बलिया नेता डा. शेखर कोइरालालाई हराउँदै संसदीय निर्वाचन जितेर फेरि उही मन्त्रालय सम्हाल्न आइपुगेका छन् ।

मन्त्री पण्डित कर्मचारीसँग मात्र नभइ गैरआवासीय नेपालीप्रति उत्तिकै आक्रामक छन् । विगतमा दोहोरो नागरिकतासम्बन्धी कानुन निर्माण हुँदै गर्दा उनले बारम्बार एउटै कुरा दोहो¥याउँदै आएका थिए– कुनै हालतमा दोहोरो नागरिकता दिइनुहुन्न यसले राष्ट्रिय अखण्डतालाई कमजोर तुल्याउँछ ।

तर, केपी ओली सरकारकै अर्का मन्त्री रवीन्द्र अधिकारी (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन) भने मन्त्री पण्डितसँग पूरै असहमत छन् । हाल अमेरिकामा रहेका मन्त्री अधिकारीले त्यहाँको नेपाली समुदायलाई सम्बोधन गर्दै भने– नेपाली सँधै नेपाली नै हुन्छ, भुतपूर्व वा वर्तमान भन्ने हुँदैन ।

पर्यटनमन्त्री अधिकारी गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आयोजना गरेको विज्ञ सम्मेलनको उदघाटनका लागि अमेरिका गएका हुन् ।

“हामी नेपाली जहाँ बसे पनि नेपाली नै हौं, देश बनाउने क्षमता नेपालकोले मात्र पुग्दैन गैरआवासीय नेपालीहरुको सहयोग र सक्रियता पनि चाहिन्छ । अव तपाई यता (विदेश) र उता (नेपाल) बस्ने सवै नेपाली हातेमालो गरेर अगाडि बढ्ने हो,” अधिकारीले भने, “तपाइँहरु सबै धनी र सम्पन्न हुनु भयो भने पनि देश सम्पन्न हुन सकेन भने सुखी र खुसी हुन सक्नुहुन्न । त्यसैले देशलाई समृद्ध बनाउने काममा हामी सबै लाग्नु जरुरी छ ।”

सामान्य प्रशासनमन्त्री पण्डितले विदेशमा स्थायी रुपमा वस्ने नेपालीलाई भुतपूर्व नेपाली हुन् भन्ने गरेको विषयप्रति अमेरिकाका नेपालीहरुले आक्रोस व्यक्त गर्दै मन्त्री अधिकारीलाई यसबारेमा प्रश्न उठाएका थिए ।

नेपाली जनसम्पर्क समितिका पूर्वसंयोजक विष्णु सुवेदीले वर्तमान सरकारका मन्त्रीले विदेशमा वस्ने नेपालीलाई पूर्व नेपाली भनेकोमा आपत्ति जनाउंदै सरकारको धारणा राख्न भनेका थिए । अन्य सहभागीहरुले पनि यस विषयमा बोल्न मन्त्री अधिकारीलाई आग्रह गरेका थिए ।

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले पनि आफू अमेरिकाको अस्थायी राजदूत भएको तर, यहाँ बस्ने गैरआवासीय नेपालीहरु स्थायी राजदूत भएको बताए ।

एनआरएनएका अध्यक्ष भवन भट्टले सबै हात एकै साथको भावनाअनुसार बढ्ने बेला भएको बताउँदै यसको सुरुवात सरकारले प्रधानमन्त्रीको राजकीय भ्रमणहरुमा एनआरएनएलाई सहभागी गराएर गरेको हामीले अनुभुति गरेको बताए

प्रकाशित : ३ असार २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह