काठमाडौं । नेपालमा झन्डै एक वर्षदेखि चीनले लगाइराखेको नाकाबन्दीविरुद्ध निजी क्षेत्र पनि सडकमा आउने स्थिति पैदा भएको छ । आक्रोशित निजी क्षेत्रले चिनियाँ रवैयाविरुद्ध आफूहरु सकडमा आउनुपर्ने अवस्था सिर्जना भएको भन्दै त्यसबाट कुटनीतिक सम्बन्ध नै बिग्रनसक्ने चेतावनी दिएको छ ।
नेपाल चीन उद्योग वाणिज्य संघका अनुसार नेपाल चीन वीचको दुइमात्र व्यापारिक तातोपानी तथा केरुङ्ग नाका लामो समय देखि आंशिक रुपमा सुचारु हुने र रोकिने अवस्थाबाट गुज्रीरहेको छ र हालसम्म पूर्ण रुपमा संचालन हुन सकेको छैन ।
व्यापारीहरुले विशेष गरी जाडो, गर्मीयाम तथा चाडवाड लक्षित गरी आयात गरिएका विविध सामानहरु ८–१० महिना देखि नाकामा अलपत्र अवस्थामा रहेको छ । कतिपय खाद्य सामग्री तथा फलफुलहरु विग्रिएको र म्याद सकिने अवस्थामा पुगिसकेको छ ।
नाका सुचारु नभएमा कारण व्यापारी व्यवसायीहरु टाट पल्टने अवस्थामा रहेको र विविध मानसिक चिन्ता एवं विचलन भई आन्दोलित हुने अवस्थामा रहेको छ । माल सामानहरु समयमा नेपाल ल्याई विक्री वितरण गर्न नसकेमा व्यवसाय नै धरासाय भई पलायन हुनु पर्ने अवस्था रहेको संघका महासचिव विवेक पौडेल बताउँछन् ।
लामो समय देखि हजारौ ट्रक मालसामानहरु नाकामा अलपत्र अवस्थामा रहेको र नाका सुचारु हुने अवस्था नदेखिएको हुँदा व्यापारीहरुले दुई देश वीच सडक मार्गबाट हुने व्यापारप्रति नकारात्मक टिप्पणी गर्न थालेको उनले बताए ।
पौडेल भन्छन्– दुई देश वीच विद्यमान सदियौं पुरानो सुमधुर व्यापारिक सम्बन्ध प्रति नकारात्मक टिप्पनी तथा आन्दोलित हुने वातावरण कदापी आउन दिन हुँदैन ।
दशैं अगाडी नै नाका पूर्ण रुपमा सुचारु हुने भनिए पनि चिनियाँ पक्षले तातोपानी नाकाबाट दैनिक २–४ वटा ट्रकलाई मात्र नेपाल प्रवेशमा अनुमती दिने गरको छ ।
संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ– भन्सार लगायत सम्बन्धित निकायबाट नाका संचालनका लागि प्रयास गरिएतापनि चीनीया पक्षबाट कुनै ठोस जानकारी, कारण तथा सूचना आउने गरेको छैन । यस अन्यौलको अवस्थालाई निरन्तरता दिनु दुई देशको हितमा कदापी नहुने र मुलुकको राजश्व संकलनमा समेत कमी हुने हुँदा यस समस्याको समाधानका लागि विशेष पहल गरी धेरै भन्दा धेरै गाडीहरु नेपाल ल्याउने वातावरण बनाउनु जरुरी छ ।
संघले द्विपक्षीय वार्ता मार्फत समस्याको स्थायी समाधानका लागि सम्बन्धीत निकाय मार्फत यथाशक्य छिटो पहलका लागि अनुरोधसमेत गरेको छ ।
प्रतिक्रिया