Logo

Banner-news

मदिरा र चुरोटमुखी अर्थतन्त्र: आयकर तिर्नेमा विजय शाह र सूर्य नेपाल अगाडि !


GDP Nepal
   ८ मंसिर २०७७, सोमबार


काठमाडौं । गत आर्थिक वर्षमा सबैभन्दा बढी आयकर तिर्नेमा व्यक्तिगततर्फ जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका अध्यक्ष विजयकुमार शाह भएका छन् भने कम्पनीतर्फ सूर्य नेपाल रहेको छ ।

आम्दानी गरे पनि खर्च बढी लेखाएर आयकर कम तिर्ने प्रवृत्तिका बीच शाह र सूर्य नेपाल सर्वोत्कृष्ट भएका हुन् । शाहको कम्पनी मदिरा उत्पादक कम्पनी हो भने सूर्य नेपाल चुरोट उत्पादक कम्पनी हो ।

नेपाली अर्थतन्त्रमा अन्य कम्पनीभन्दा मदिरा र चुरोटजस्ता उत्पादनमूलक क्षेत्र फस्टाएको सरकारको यो घोषणाले देखाएको छ । अन्य व्यवसाय रक्षात्मक अवस्थामा रहँदा पनि यो क्षेत्रमा कोभिड तथा लकडाउनको प्रभाव न्यूनमात्र देखिन्छ ।

नेपालमा मदिरा तथा चुरोट खपत बढिरहेको र यसले विभिन्न स्वास्थ्य समस्यासमेत देखिएको अध्ययनहरुले देखाएका छन् । अर्थतन्त्रका लागि राजस्वको ठूलो स्रोत भएकाले राज्यले यसमाथि नियन्त्रण गर्न सकेको छैन ।

मदिरा तथा चुरोट बिक्रीमा नियमनसमेत नभएको भन्दै सरोकारवालाहरुले चिन्ता जनाइरहे पनि सरकारको ध्यान जान सकेको छैन ।

मदिरा व्यवसायी शाहले यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी आयकर बुझाएर यो सम्मान पाउने भएका हुन् । यसअघि लगातार चार वर्षसम्म तारा म्यानेजमेन्टका सिद्धार्थ राणाले पाउँदै आएको उत्कृष्ट करदाता सम्मान यस वर्ष शाहले पाउने आन्तरिक राजस्व विभागले आइतबार जनाएको छ ।

शाहसहित सरकारले यो वर्षका उत्कृष्ट करदाताहरूको नाम सार्वजनिक गरेको छ । विभागले नवौं राष्ट्रिय कर दिवसको समापन समारोहको अवसर पारेर उत्कृष्ट १५ करदाताको नाम सार्वजनिक गरेको हो ।

सरकारले हरेक बर्षको मंसिर १ मा राष्ट्रिय कर दिवस मनाउने गरेको छ भने सो दिवसको अवसरमा अघिल्लो आर्थिक वर्षमा बढी कर तिर्ने विभिन्न विधाका करदातालाई सम्मान गर्दै आएको छ ।

कोभिड–१९ संक्रमणको बढ्दो जोखिममा कारण कर दिवस विशेष सप्ताह समापन समारोहमा सरकारले उत्कृष्ट करदाताहरूको नाम मात्र सार्वजनिक गरेको छ ।

पछिल्लो ११ वर्षमा मूल्य अभिवृद्धि कर विवरण समयमा पेश गर्ने र समयमै कर चुक्ता गर्ने तथा सबै भन्दा धेरै मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीमध्येबाट घोराही सिमेन्ट उद्योग सम्मानित हुने भएको छ । उक्त सिमेन्ट उद्योग गत वर्ष पनि सोही विधामा सम्मानित भएको थियो ।

विभागका अनुसार सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा निर्यातकर्तातर्फ डाबर नेपाल प्रालि, उद्योगतर्फ हिमाल पावर लिमिटेड र कृषि एवम् पशुपन्छी उद्योगतर्फ अन्नपूर्ण एग्रो सम्मानित हुने भएका छन्् । डाबर नेपाल र अन्नपूर्ण गत वर्ष पनि सोही विधाबाटै सम्मानित भएका थिए ।

बैंक तथा वित्तीय संस्थातर्फ नबिल बैंक, बिमा व्यवसायतर्फ नेपाल पुनर्बिमा कम्पनी, सहकारी तथा लघुवित्त संस्थातर्फ छिमेक लघुवित्त कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवातर्फ मणिपाल मेडिकल कलेज, व्यापार व्यवसायतर्फ अग्नी इन्कर्पोरेट प्रालि, रेमिट्यान्सतर्फ आइएमई लिमिटेड र पर्यटनतर्फ तारागाउँ रिजेन्सी (हायात होटल)सम्मानित हुने भएका छन् ।

यस्तै, मध्यस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र पर्ने सबैभन्दा धेरै आयकर तिर्ने करदातामा कामना सेवा विकास बैंक परेको छ । विभागले आइतबार सार्वजनिक गरेको उत्कृष्ट करदाताहरूलाई पछि विशेष समारोहबीच सम्मान गर्ने जनाएको छ ।

प्रकाशित : ८ मंसिर २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह