Logo

Banner-news

प्रचण्डलाई किन भेटे उद्योग वाणिज्य महासंघका पदाधिकारीले ?


GDP Nepal
   ३० मंसिर २०७७, मंगलबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग आइतबार साँझ भेट गरे । नेकपाभित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली नै सशंकित हुनेगरी निजी क्षेत्रका प्रतिनिधिले गरेको भेटलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।

मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीसँग औपचारिक भेट गरी आर्थिक विकासका लागि सरकारका तर्फबाट सबैखाले सहयोगको प्रतिबद्धता जनाइसकेको अवस्थामा सत्तारुढ पार्टीकै अर्का अध्यक्षसँग भेट्न जानुलाई त्यति स्वाभाविक रुपमा लिइएको पाइँदैन । दाहाललाई भेट्न महासंघका पदाधिकारीहरु उनको निवास खुमलटार पुगेका थिए ।

दाहाल ओलीको तुलनामा निजी क्षेत्रमैत्री नेता मानिन्छन् । तर, उनीसँगको भेटले प्रधानमन्त्री ओली असन्तुष्ट हुने जोखिम रहँदारहँदै पनि महासंघ टोली विशेष प्राथमिकताका साथ उनलाई भेट्न जानुले व्यावसायिक र राजनीतिक वृत्त तरंगित भएको छ ।

महासंघ अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको भिजन पेपर तयार भइरहेको र सो पारित गरी अगाडि बढ्न बताउँदै आएका छन् । यसका लागि उनी निजी क्षेत्रका अन्य संस्थाहरु नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससँग पनि निरन्तर सम्वादमा छन् ।

तर, नेकपा अध्यक्ष दाहाललाई भेट गरेर उनले भिजन पेपवरमाथि राजनीतिक अपनत्व खोजेको हो भने त्यो प्रत्युत्पादक हुनसक्ने जानकारहरु बताउँछन् । महासंघका एक पूर्व पदाधिकारी भन्छन्– महासंघले प्रधानमन्त्रीपछि बरु संसदमा प्रमुख प्रतिपक्षी दलका नेतालाई भेटेको भए त्यो स्वाभाविक मानिन्थ्यो तर नेकपाभित्र विवाद चर्किएको बेला पुष्पकमल दाहाललाई भेट्नु र सचिवालयमार्फत त्यसलाई सार्वजनिक गरिनुले सकारात्मक सन्देश दिँदैन ।

महासंघका अनुसार अध्यक्ष गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू अन्जन श्रेष्ठ र रामचन्द्र संघई तथा कोषाध्यक्ष सुकुन्तलाल हिराचन सम्मिलित प्रतिनिधिमण्डलले अध्यक्ष दाहालसँग भेटवार्ता गरेको थियो ।

अध्यक्ष गोल्छाले आर्थिकदेखि सम्पूर्ण क्षेत्रकै लागि कोभिड अत्यन्त ठूलो चुनौती बनेर आएकाले यसबाट मुलुकलाई सकुशल माथि उठाउनु सवैको कर्तव्य भएको र निजी क्षेत्रको नेतृत्वदायी संस्था महासंघले यसका लागि विशेष गृहकार्य गरिरहेको बताएको महासंघले विज्ञप्तिमा जनाएको छ ।

निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनरूत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेको पनि उनले बताएका छन् ।

नेकपा अध्यक्ष दाहालले महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिंदै उद्योग व्यवसायको विकास विस्तारमा सक्रियतापूर्वक लाग्न नयां टिम सफल हुने विश्वास व्यक्त गरे ।

निजी क्षेत्रको सर्वोच्च संस्था महासंघलाई आफूले सधैँ उच्च प्राथमिकता दिएको स्पष्ट पार्दै उनले मुलुकको अर्थतन्त्रको प्रमुख आधारको रूपमा रहेका साना तथा मझौला उद्योग व्यवसायको पुनरुत्थानका लागि आफ्नो पनि विशेष जोड रहेको र महासंघको नयां नेतृत्व पनि यसमानै केन्द्रीत रहेको पाउंदा आफूलाई खुशी लागेको बताए ।

प्रकाशित : ३० मंसिर २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह