Logo

Banner-news

नेपालमा चिनियाँ प्रभाव कम गर्ने भारतीय रणनीति, पञ्चेश्वरमा नाटकीय सहमति


GDP Nepal
   १७ पुस २०७७, शुक्रबार


काठमाडौं । नेपालको आन्तरिक राजनीतिमा चिनियाँ प्रभाव बढ्दै गएपछि भारतले रणनीति परिवर्तनको संकेत गरेको छ । नेपाल र भारतबीच अढाइ दशकअघि भएको महाकाली सन्धि कार्यान्वयनमा भारतले चासोमात्र देखाएको छैन कि यसअघिका विवादित बुँदामा सहमतिसमेत दिएको छ ।

भारत जसरी पनि पञ्चेश्वर अगाडि बढाउन अघि सरेको देखेपछि नेपाली पक्ष पनि अचम्मित भएको छ । पुस १४ गते भारत गएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फर्केपछि बिहीबार पत्रकार सम्मेलनमा विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रुप दिएर आयोजना अगाडि बढाउने विषयमा केही महत्वपूर्ण सहमति भएको जानकारी दिइयो ।

जसअनुसार महाकाली सन्धीको प्रावधान अनुसार भारतले नेपालको दोधारा तथा चाँदनीमा सिँचाइका लागि पानी उपलब्ध गराउन सहमत भएको छ भने अन्य विवादका विषयलाई समेत दुवै पक्षलाई मान्य हुने गरी समाधान गर्न तयार भएको छ ।

महाकाली सन्धीको धारा ४ मा नेपालले पाउनुपर्ने १० क्यूबिक मिटर प्रति सेकेण्ड पानी सिँचाइका लागि अत्यावश्यक भएको र मानवीय संवेदनासँग पनि जोडिएको विषय हो । भारतले लामो समयसम्म पञ्चेश्वर आयोजना निर्माण भएपछि उपलब्ध गराउने बताउँदै आएको थियो ।

पछिल्लो सहमति अनुसार भारतले चाँदनी र दोधारालाई पानी उपलब्ध गराउन सहमति जनाएको छ । सो सहमति पछि नेपालले नेपाली भूभागका लागि सिँचाइ सुविधा उपलब्ध गराउनका लागि तयार पारेको डिपिआरलाई दुई महिना भित्र आवश्यक सुझावसहितको प्रतिक्रिया दिने भएको छ । सो सुझावपछि नहर निर्माण प्रक्रिया शुरु गरिनेछ । भारततर्फको भूमिमा भारतले र नेपालतर्फको भूमिमा नेपालले नै लगानी गर्ने गरी तयारी गरिएको छ ।

“ पञ्चेश्वर जस्तो बहुउद्देश्यिय आयोजना निर्माणका लागि स्थानीयबासीलाई विश्वासमा लिएर जानुपर्ने भएकाले सहज रुपमा सो सिँचाइ आयोजनाको काम अगाडि बढाउने सहमति भएको हो”, पत्रकार सम्मेलनमा ऊर्जा सचिव घिमिरेले भने ।

सहमतिसँगै नेपाल र भारतबीच भएको महाकाली सन्धी कार्यान्वयनमा जाने संकेत देखिएको छ । लामो समयदेखि दोधारा र चाँदनीका जनताले राख्दै आएको माग सम्बोधन भएको र त्यसले सकारात्मक वातावरण बनाउने विश्वास लिइएको छ । यस्तै, महाकाली सन्धी अनुसार नै माथिल्लो तटीय क्षेत्रको जनजीवनका लागि छाड्नुपर्ने पाँच प्रतिशत पानीका विषयमा समेत दुई देशका बीचमा सहमति भएको छ ।

नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुने भनिएको पञ्चेश्वर जलविद्युत् आयोजनाको ऊर्जा तर्फको कूल लगानी मध्ये ५० प्रतिशत हिस्सा नेपालले व्योहोर्ने भएको छ । बाढी नियन्त्रण तथा सिँचाइका हकको लागतका सम्बन्धमा भने आगामी बैठकमा थप निर्णय गर्ने गरी दुई पक्षीय वार्ता सकारात्मक रुपमा सम्पन्न भएको छ । लामो समयदेखि नेपाल र भारतबीच पानी उपभोगका सम्बन्धमा कुरा मिल्न सकेको थिएन ।

आयोजनाबाट कूल ६ हजार ४८० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । यस्तै रुपालीगाडमा बन्ने रिरेगुलेटिङ बाँधबाट थप २४० मेगावाट विद्युत् उत्पादन गरिनेछ । अध्ययन अनुसार पूर्णागिरीमा अर्को बाँध बनाइ थप एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

डिपिआर स्वीकृत नभएको अवस्थामा पनि सो आयोजनाको कूल लागत झण्डै पाँच खर्ब भारतीय रुपैयाँ बराबर हुने अनुमान गरिएको छ । परियोजनाबाट उत्पादन हुने बिजुली र पानीको मूल्यांकन गरेर लाभका आधारमा बाँडफाँड गरी लागत निर्धारण गरिनेछ । महाकाली सन्धी पारित गर्दा ६ महिनाभित्र डिपिआर तयार पार्ने उल्लेख गरिएको थियो ।

प्रकाशित : १७ पुस २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह