Logo

अर्थनीति

ओलीको चीन भ्रमणमा क्रोनी क्यापिटलिजमको पूर्वाभ्यास


appharu
   ८ असार २०७५, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला उत्तरी छिमेकी चीन भ्रमणमा छन् । हिमालय एयरलाइन्सको जहाजमार्फत चीन गएका ओलीले केही व्यवसायीलाई पदीय मर्यादा नै ख्याल नराखी काखी च्याप्दा नेपालमा भने क्रोनी क्यापिटलिजमको जोखिम बढेको भन्दै विश्लेषण गर्न थालिएको छ ।

सत्ताधारी–व्यवसायीको मिलेमतोमा चल्ने अर्थतन्त्रलाई क्रोनी क्यापिटलिजम भनिन्छ ।

अर्थ राजनीतिक विश्लेषक गुणराज भट्टका अनुसार बजार अर्थतन्त्रमा सरकार एउटा तटस्थ नियामक तथा अभिभावक हुनुपर्ने हो तर निजी कम्पनी तथा व्यक्तिगत फाइदाका लागि वा तिनलाई पोस्न व्यक्तिगत सम्बन्ध, शक्ति वा अन्य आधारमा सरकारी नीति, नियम, योजना तथा कामकारबाहीमा परिवर्तन गराउनुलाई क्रोनी क्यापिटलिजम भनिन्छ । यसमा सरकारी प्रणाली तथा प्रशासनभन्दा पनि व्यक्तिगत पहुँचका आधारमा काम हुने गर्छ र सीमित कर्मचारी र राजनीतिज्ञले फाइदा लिने गर्छन् ।

ओलीको ११० सदस्यीय चिनियाँ टोलीमा ५२ जना त व्यवसायी नै छन् । ति व्यवसायीमध्ये पनि केही भने ओलीका लागि खास छन्, उनीहरुले प्रधानमन्त्रीकै उपस्थितिमा चीनबाट नेपालमा लगानी ल्याउने सम्झौता गर्न पाएका छन् ।

ओलीसँगै भ्रमणमा गएका व्यवसायीमध्ये पुराना उद्योगपति पद्मज्योतिदेखि ज्ञानेन्द्रलाल प्रधान, गुरु न्यौपाने, शैलेन्द्र गुरागाईं, भवानी राणा र दुर्गावहादुर थापालगायतले चीनबाट लगानी ल्याउने सम्झौता गरेका छन् ।

यी व्यवसायीमध्ये कतिपय प्रधानमन्त्री ओलीका भित्रिया पनि हुन् । सरकारी र निजी क्षेत्रमार्फत पौने ३ खर्ब (२ अर्ब ५० करोड अमेरिकी डलर) बराबरका नौ परियोजनामा सहमति भएको छ ।

त्यसो त वाम गठबन्धनको सरकार गठन भएपछि नै नेपालमा स्वस्थ प्रतिस्पर्धाको अन्त्य भइ क्रोनी क्यापिटलिजम् फस्टाउने आकलन गरिएको हो । प्रधानमन्त्रीकै कारण व्यवसायीबीच पनि सत्ता निकट र सत्तासँग पहुँच नभएका दुई वर्गको उदय हुने खतरा बढाएको एकाथरी व्यवसायीहरु बताउँछन् ।

प्रधानमन्त्री ओलीको स्वभावसँग परिचितहरू आफू निकटमा रहेकाहरूको जस्तोसुकै गल्ती पनि ढाकछोप र बचावट गर्ने तथा आफ्ना विरोधीहरूलाई अनावश्यक रुपमा पेल्ने रहेको देखिन्छ । राजनीतिमा ओलीको यो स्वभाव भोलिका दिनमा व्यावसायिक क्षेत्रमा समेत छिर्यो भने त्यो मुलुकका लागि झनै दुर्भाग्यपूर्ण हुनेछ ।

प्रकाशित : ८ असार २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह