Logo

Banner-news

कोरोनाप्रभावित ऋणीलाई असारसम्मको मौका, साना जलविद्युतलाई पुनर्कर्जा


GDP Nepal
   २ फाल्गुन २०७७, आइतबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावितलाई ऋणीलाई असारसम्मको मौका दिएको छ भने साना जलविद्युत आयोजनालाई विशेष पुनर्कर्जा सुविधा उपलब्ध गराउने भएको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमा रहेका अधिकांश व्यवस्थालाई कायम राख्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै कोरोनाका असर बाँकी रहँदासम्म नीतिमा परिवर्तन गरिहाल्ने अवस्था नभएको जनाएको छ ।

अर्थतन्त्र सकारात्मक दिशामा केन्द्रित भए पनि कोरोनाको असर हट्न अझै केही समय लाग्ने केन्द्रीय बैंकको ठहर छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका अनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ऋण पुनर्तालिकीकरण गर्ने सुविधा आगामी असार मसान्तसम्म थप गरेको छ ।

उद्योग व्यवसायमा कोरोनाको असर अझै कायम रहेकाले एक पटकका लागि ऋणीलाई ऋण पुनर्तालिकीकरण गर्ने सुविधा दिइएको र समयावधि विस्तार गरेर २०७८ असार मसान्तसम्म कायम राखिएको उनले जानकारी दिए ।

गभर्नर अधिकारीले गत पुस मसान्तसम्म सक्रिय वर्गमा रहेकालाई पाँच प्रतिशत मात्रै ब्याज असुल गरी २०७८ साल असार मसान्तसम्मका लागि पुनः एक पटकका लागि ऋण पुनर्तालिकीकरण गर्ने सुविधा दिइएको बताए ।

कोभिड–१९ ले प्रभावित पेशा, उद्योग र व्यवसायलाई संरक्षण गर्नुको साथै कृषि र साना तथा मझौला र घरेलु व्यवसायलाई सहुलियत दिने उद्देश्यले पुनःसंरचना गरिएको पुनःकर्जाको नयाँ व्यवस्थाबाट गत माघ मसान्तमा रु ८७ अर्ब ८७ करोड बराबरको कर्जा स्वीकृति भएको छ ।

उद्यमशीलताको विकास, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले चालू आवमा परिमार्जनसहित कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट गत पुस मसान्तसम्ममा ६० हजार ८७९ ऋणीलाई कर्जा प्रवाह भएको छ ।

यस्तै गत पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको रु एक खर्ब ३७ करोड यस्तो कर्जा लगानीमा रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ३३ हजार ८१७ ऋणीलाई रु ७६ अर्ब ५९ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २७ हजार ६२ ऋणीको रु २३ अर्ब ७७ करोड कर्जा बक्यौता रहेको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्बाट स्वीकृत “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” मा भएको व्यवस्था बमोजिम कोरोना प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरताका लागि कर्जा उपलब्ध गराइएको छ ।

ति क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट पाँच प्रतिशत ब्याज दरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ । गत पुसदेखि यस प्रकारको कर्जा प्रवाह हुन थालेको केन्द्रीय बैंकले जनाएको छ ।

लामो समयदेखि ऊर्जा उद्यमीले माग गर्दै आएको विशेष पुनर्कर्जाको मागलाई नेपाल राष्ट्र बैंकले सम्बोधन गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केन्द्रीय बैंकले ऊर्जा उद्यमीको माग सम्बोधन गरेको हो । पछिल्लो व्यवस्थाअनुसार कूल १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाले अब विशेष पुनर्कर्जा पाउने भएका छन् ।

कोरोनालगायत कारण साना तथा लघु आयोजना समस्यामा परेको भन्दै विशेष पुनर्कर्जाको माग गर्दै आएका थिए । रुग्ण जलविद्युत् आयोजनालाई राहत दिनुपर्ने उनीहरूको भनाइ थियो । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले रुग्ण जलविद्युत् आयोजनालाई राहत दिन विद्युत नियमन आयोगमार्फत केन्द्रिय बैंकलाई आग्रह गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले १० मेगावाटसम्मका जलविद्युत् आयोजनालाई विशेष पुनर्कर्जाको पहुँच पु¥याउन लागिएको बताए ।

साना जलविद्युत् आयोजनाले पुनर्कर्जा नपाएको तथा कतिपय आयोजना समस्यामा समेत परेका थिए । यसले साना जलविद्युत् आयोजनालाई विशेष सहुलियत हुने विश्वास लिइएको छ । यस्तै केन्द्रीय बैंकका अनुसार गत पुस मसान्तसम्म ७४९ स्थानीय तहमा वाणिज्य बैंकहरूको कम्तीमा एक शाखा पुगेको छ । बैंकका अनुसार २०७६ साल पुसमा ७४५ स्थानीय तहमा वाणिज्य बैंकहरूको शाखा विस्तार भएका थिए ।

बैंक तथा वित्तीय संस्थाका शाखा विस्तारसँगै वित्तीय पहुँच बढेको केन्द्रीय बैंकको ठहर छ । बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या २०७७ असार मसान्तमा नौ हजार ७६५ रहेकामा गत पुस मसान्तमा १० हजार १८७ पुगेको छ । उक्त अवधिमा प्रतिबैंक शाखा जनसङ्ख्या तीन हजार ७२ बाट घटेर दुई हजार ९४५ कायम भएको छ ।

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह