Logo

Banner-news

बढ्यो पेट्रोलियमको मूल्य, निगमको पाक्षिक घाटा अझै १ अर्ब ३२ करोड


GDP Nepal
   १७ फाल्गुन २०७७, सोमबार


काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियल पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले हवाई इन्धन बाहेकका पेट्रोलियम पदार्थको मूल्य सोमबार रातिदेखि लागू हुनेगरी बढाएको हो ।

निगम प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर ११६ रुपैयाँ कायम भएको छ । यस्तै, डिजल र मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ । यस्तै, हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा ५ रुपैयाँले वृद्धि गरी ७२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ प्रतिकिलोलिटर कायम गरिएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत नै कायम राखिएको निगमले जनाएको छ ।

मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर ६ रुपैयाँ ५६ पैसा तथा एलपी गयासमा प्रतिसिलण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको छ । पाक्षिक रुपमा करिब १ अर्ब ३२ करोड घाटा नै रहने र सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिनेछ ।

मूल्य समायोजनपश्चात् पनि भारतीय सीमा रक्सौलसँग जाडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल लिटरमा ३५ रुपैयाँ ९३ पैसा र डिजल प्रति लिटर ४२ रुपैयाँ ७ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ ।

निगमले यसअघि यही फागुन ४ गतेपनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको थियो । इण्डियन आयल कर्पोरेशनले आज पठाएको मूल्यसूचीअनुसार नै मूल्य समायोजन गरिएको जनाएको छ । मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा रु एक अर्ब ५४ करोड ६ लाख घाटा हुने अवस्था रहेको दाबी गरेको छ ।

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह