Logo

Banner-news

सीएनआई र चेम्बरसँग सहकार्यमा महासंघको प्राथमिकता, भिजन पेपरको अन्तिम तयारी !


GDP Nepal
   २५ फाल्गुन २०७७, मंगलबार


काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले निजी क्षेत्रका प्रमुख दुई संस्था नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यलाई प्राथमिकता दिइएको जनाएको छ ।

महासंघ अध्यक्ष शेखर गोल्छाले आफ्नो कार्यकालको सय दिन पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा यो अवधिमा चेम्बर र सिएनआईसँग सहकार्य एवं कार्यगत एकता भइरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने जनाए ।

गोल्छाले महासंघको बहुचर्चित भिजन पेपर चैत अन्तिम साता हुने ५५ औं साधारणसभा अगावै ल्याइसक्ने जानकारी पनि दिएका छन् । यो भिजन पेपर कार्यकारिणी समितिमा पेश भइसकेको छ भने यसको सारांश मंगलबार पत्रकारमाझ सार्वजनिक गरिएको छ ।

भिजन पेपरमा दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्यलाई प्रमुखताका साथ अघि सारिएको छ भने भिजन पेपरमा विभिन्न् १० प्राथमिकता प्राप्त क्षेत्र रहने जनाइएको छ ।

महासंघका अनुसार भिजन पेपर राष्ट्रिय आर्थिक रूपान्तरण मार्गचित्र २०३० को अवधारणाअनुसार ल्याउन लागिएको छ । यसका निमित्ती समृद्धिका लागि निजी क्षेत्र भन्ने नारा तयार भएको अध्यक्ष गोल्छाले बताए ।

महासंघको भिजन पेपरमा कृषि, सेवामूलक क्षेत्र र उत्पादनमूलक उद्योगलाई नै आर्थिक विकासको आधार मानिएको छ । जसमा नेपाललाई एसियाको प्रमुख सेवा केन्द्र बनाउने, तुलनात्मक लाभका उद्योगमात्र सञ्चालन गर्ने तथा निर्वाहमुखी कृषिबाट उत्पादनमुखी कृषिमा रुपान्तरण गर्ने योजना रहेका छन् । यस्तै, दोहोरो अंकको वृद्धि यसका लागि मुख्य शर्तका रुपमा अघि सारिएको छ ।

उद्यम र आर्थिक विकासका क्षेत्रमा सम्भावनाहरूको विश्लेषण भिजन पेपरमा गरिएको छ भने साना तथा मझौला व्यवसाय, स्टार्टअपलाई अर्थतन्त्रको मेरुदण्ड मानेर सोही अनुसार योजना अघि सारिनेछ ।

पूर्वाधारमा लगानीको प्राथमिकता निर्धारण तथा ज्ञानमा आधारित अर्थतन्त्रको विकासलाई पनि भिजन पेपरमा समेटिएको छ । श्रम व्यवस्थापनलाई पनि यसमा जोडिएको छ । महासंघले जिम्मेवार निजी क्षेत्रको अवधारणा पनि भिजन पेपरमा अगाडि सार्ने भएको छ । यस्तै, स्थानीय सम्भावनाको मूल्यांकन गर्ने जनाइएको छ ।

सय दिन उत्साप्रद
यसैबीच, कार्यकालको सय दिनका उपलब्धि उत्साहजनक रहेको महासंघको दाबी छ । जसमा विधानअनुसार गठन हुनुपर्ने परिषद्, समिति र फोरम गठन गरिएको उल्लेख छ । जसमा परिषद, फोरम र समिति बनाउँदा नै टिओआर दिइएको अध्यक्ष गोल्छाले बताए ।

यस्तै, विधान संशोधनलाई सर्वसम्मत बनाउने उनको भनाइ छ । बि सं. २०७८ भित्र विधान संशोधन हुने जनाइएको छ र यसका लागि पूर्वअध्यक्ष कुशकुमार जोशी नेतृत्वको समितिले कार्यतालिका अनुसार काम गरिरहेको उल्लेख गरिएको छ ।

महासंघको सचिवालय र पूर्वाधार सुदृढीकरण गर्ने काम भइरहेको अध्यक्ष गोल्छाले बताए । जसमा हलहरुको स्तरोन्नति तथा नयाँ भवन निर्माण गर्ने काम अगाडि बढेको छ । कोषाध्यक्ष सुकुन्तलाल हिराचन नेतृत्वमा समितिले नयाँ भवन बनाउने र सो भवनमा वस्तुगत संघहरुको समेत कार्यालय रहने उल्लेख छ ।

यस्तै, प्रदेश संरचनालाई पनि प्रभाावकारी बनाउने, प्रदेश सञ्चालन नियमावली बनाइने तथा सफ्टवेयरमार्फत प्रदेश सञ्चालन गरिने जनाइएको छ ।

महासंघले उत्पत्ति प्रमाणपत्र व्यवस्थापनका लागि तीन उपाध्यक्ष र कोषाध्यक्ष रहेको कार्यदल गठन भएको जनाएको छ । यस्तै, कृषि उद्यम केन्द्रमार्फत अनुसन्धान पनि गर्ने भएको छ । महासंघमा सदस्य सेवा केन्द्र स्थापना गरिएको र यसमार्फत कर, राजस्व, बैकिङ र श्रम समस्याबारे सम्बोधन हुने उल्लेख छ । महासंघले औद्योगिक तथ्याङ्कका क्षेत्रमा पनि काम गर्ने जनाएको छ ।

महासंघका आगामी कार्ययोजनामा भिजन पेपर कार्यान्वयन युनिट स्थापना गर्ने तथा ५० नयाँ उद्यमीलाई सुरु पुँजीसहित उद्यम गर्न सघाउने जनाइएको छ

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह