Logo

Banner-news

कच्चा तेलको मूल्य घटे पनि डलरको भाउ बढेपछि पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि


GDP Nepal
   ५ बैशाख २०७८, आइतबार


काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही गिरावट आए पनि नेपालमा भने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले शनिबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा रु ८१ करोड घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको निगमको भनाइ छ। जसअनुसार पेट्रोल प्रतिलिटर १२१ रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ पुगेको छ ।

यस्तै, आन्तरिक उडानतर्फको हवाइ इन्धनको साविकको बिक्री मूल्यमा दुई रुपैयाँ वृद्धि हुँदा प्रतिलिटर ७६ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्याँस र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको भने मूल्यवृद्धि गरिएको छैन ।

अन्तर्राष्ट्रिय बजारमा अहिले कच्चा तेलको मूल्य औषत ६६.७२ डलर प्रतिब्यारेल छ । यो मूल्य गत महिनाको भन्दा केही कम भए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्नुको कारण भने डलरको मूल्य नै हो । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको सटही दर ११९.२७ रुपैयाँ पुगेको छ ।

निगमका अनुसार मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ६ रुपैयाँ ७२ पैसा, डिजलमा ४४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ४१७ रुपैयाँ ४७ पैसा घाटा रहेको छ । त्यस आधारमा १५ दिनमै निगमलाई ७० करोड ६६ लाख घाटा हुनेछ ।

निमगका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपाल भारत सीमाको रक्सोलको तुलनामा वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २९ रुपैयाँ २३ पैसा र डिजल प्रतिलिटर ३५ रुपैयाँ ४१ पैसा नेपालतर्फ सस्तो छ ।

प्रकाशित : ५ बैशाख २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह