काठमाडौं । गैरआवासीय नेपाली संघको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना भएको छ । विश्वभर रहेका नेपालीहरुको पूँजीलाई नेपालमा लगानी गर्ने उद्देश्यका साथ संघले फन्ड स्थापना गरिएको हो ।
१० अर्ब अधिकृत पूँजी राखेर दर्ता यो कम्पनीमा पाँच प्रतिशत नेपाल सरकारको पनि लगानी रहनेछ । फण्ड स्थापनाको औपचारिक घोषणा गर्नका लागि अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले नेपाल सरकार गैरआवासीय नेपालीसँग सहकार्यका लागि सदैव तत्पर रहेको र आवश्यक सहयोगका लागि तयार रहेको बताए ।
गैरआवासीय नेपालीले लगानीदूतको रुपमा भूमिका निर्वाह गर्दै विदेशी लगानीकर्तालाई पनि आकर्षित गर्न मद्दत गर्न उनले आह्वान गरे ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले छरिएर आउने गरेको लगानी संगठित रुपमा नेपाल ल्याउन बाटो खुलेको बताए । उनले भने, यसबाट पनि रोजगारी सिर्जना भइरहेको छ । केही समयअघि पनि हामीले अर्को लगानी भेन्चर सञ्चालनमा ल्याएका थियौँ । तर हाम्रा दाजुभाइहरुले बृहत लगानीको प्ल्याटफर्म खोज्नुभएको थियो । त्यही मागलाई पूरा गर्न यो कोष आएको छ ।
फन्डका अध्यक्ष डा. उपेन्द्र महतोले विश्वभरका नेपालीबाट ठूलो लगानी रकम नेपाल ल्याउँदा अन्य लगानीकर्तालाई समेत प्रोत्साहन गर्न सकिने बताए ।
नेपालको विसकामा पहिला नेपालीको सहभागिता आवश्यक पर्ने र त्यसपछि मात्र विदेशी पनि आकर्षित हुने उनको भनाई थियो । विदेशबाट लगानीमात्र नभई प्रविधि, सीप, कर्पोरेट कल्चर र सुशासन पनि भित्रने उनको विश्वास थियो ।
अर्थसचिव शिशिर ढुंगानाले यस फण्डमा सरकारको पनि पाँच प्रतिशत लगानी रहने र यस फण्डलाई कोरोना पछिको अर्थतन्त्रको उत्थानका लागि प्रयोग गर्न सकिने बताए ।
यसअघिका पराम्परागत आयोजना नवप्रवर्धनात्मक पूर्वाधार र आर्थिक विकासका आयोजना पहिचान गरी लगानी गर्न यो फण्ड सहयोगी हुने र त्यसका लागि सरकारले सहयोग गर्ने उनको भनाई थियो ।
कार्यक्रममा महाप्रसाद अधिकारीले फण्ड स्थापनाका परिकल्पनाकारलाई धन्यवाद दिँदै नेपालमा लगानीका लागि प्रशस्त सम्भावना भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले नेपालको आर्थिक विकासमा सहभागिता जनाउन चाहने संसारभर छरिएर रहेका नेपालीको लागि यो फण्ड उपलब्धिमुलक र फाइदाजनक हुने बताए ।
प्रतिक्रिया