Logo

Banner-news

निषेधाज्ञामा कर कसरी तिर्ने ? महासंघले गर्‍यो म्याद थप्न माग गर्दै पत्राचार !


GDP Nepal
   २२ बैशाख २०७८, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई बुझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न माग गरेको छ ।

महासंघले कोभिड–१९ को नया भेरियण्टको संक्रमण रोकथामका लागि मुलुकको झण्डै दुई तिहाई भुभागमा निषेधाज्ञा लकडाउन जारी रहेका कारण कर बुझाउने अवस्था नरहेको भन्दै यस्तो माग गरेको हो ।

महासंघले मंगलबार सरकारको सम्बन्धित निकायमा पत्राचार गरी अहिलेकोे विषम परिस्थितिलाई मनन गरी मूल्य अभिबृद्धि कर तथा अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन अनुरोध गरेको जनाएको छ ।

कोभिड महामारीका कारण दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरू समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण वुझाउन र कर रकम भुक्तानी गर्न नसकिने हुंदा समय थप गर्न महासंघले पत्रमार्फत आग्रह गरेको छ ।

“अघिल्लो वर्षमा भएको लामो लकडाउन पछि तङग्रिन सुरु गरेको व्यापार व्यवसाय कोभिडको दोस्रो लहरका कारण पुनः जटिल अवस्थामा आइपुगेको छ,” विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक यातायातको संचालन नभएको लगायतका कारणबाट उद्योग व्यवसाय पूर्ण रूपमा संचालनमा आउन सकेका छैनन भने चलेका पनि अत्यन्त कम क्षमतामा संचालित छन् ।”

महामारी कति लामो समय जान्छ यसै भन्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै महासंघले बन्दाबन्दीले अर्थतन्त्र चलायमान बन्न नसक्दा यससंग प्रत्यक्ष जोडिएका साना ठूला सबै तहका उद्योगी व्यवसायी, काम गरेर खाने श्रमिक कामदारहरू लगायत आम सर्वसाधारणको दैनिक जीवनयापन अत्यन्त कठिन बन्दै जाने यथार्थतालाई समयमै मनन गरी सरकारबाट उचित नीति सहितको सहयोग गर्न पनि विज्ञप्तिमा अपिल गरिएको छ ।

प्रकाशित : २२ बैशाख २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह