Logo

Banner-news

जातीय भेदभावको अन्त्य कसरी गर्ने ? अर्थशास्त्री डा. दधि अधिकारीको टिप्पणी


GDP Nepal
   १० असार २०७८, बिहिबार


डा. दधि अधिकारी

डा. दधि अधिकारी
रुपा सुनार र सरस्वती प्रधान बीचको घर भाडामा दिने नदिने सम्बन्धमा दुवैलाई पिडा भएको छ । रुपाजीलाई जातकै आधारमा घर भाडा नपाउनु पिडादायी छ भने सरस्वतीजीलाई कल्पना पनि नगरिएको ३ दिन हिरासतमा बस्नु परेकोले पिडा छ ।

जात, भाषा, धर्म, लिङ्ग, रंगको आधारमा हुने भेदभाव समाजको निमित्त कलंक हो र यो समस्या नेपालमा मात्र होईन विश्व भरि नै रहेको छ । यी भेदभावको समस्याको समाधान २ तरिकाले हुन सक्छः

पहिलो, जन चेतना र शिक्षाको माध्यमबाट । मानिस शिक्षित हुँदै जाँदा यी समस्याहरुमा केहि कमि आएको हामीले महशुस गरेका छौं । चेतना र शिक्षाले ल्याएको परिवर्तन दीगो हुन्छ । यस्तो परिवर्तनमा समस्याको आन्तकरिकरण (इन्टरनलाईज) भएको हुन्छ । यस्तोमा मानिसमा ठूलो सानो जातको कुनै महशुस नै हुँदैन । तर आज सेतोपाटीमा दीपा नेपालीले भने जस्तै यो जनचेतना कहिले आउने हो । शदियौं देखि चलेको यो प्रचलन सकिन कति समय लाग्ने हो ? के त्यति बेला सम्म यसरी भेदभाव व्यहोर्ने ले सहेर वस्ने त ? पक्कै पनि सहेर बस्ने कुरा हुँदैन ।

समाधानको दोश्रो उपाय, नियम कानून बनाएर समस्याको समाधान गर्ने । नियम कानूनले बाहिरी रुपमा समस्याको समाधान त गर्दछ तर मानिसको भित्री मनमा परिवर्तन नआएको हुन सक्छ । तर पनि नियम कानून प्रभावकारी रुपमा लागु भयो भने यो समस्या समाधानको छिटो र छरितो उपाय हो । नियम कानून लागु हुँदै गर्दा मानिसको मन पनि स्थायी रुपमा परिवर्तन भै सकेको हुन सक्छ ।
रुपाजी र सरस्वतीजी संबन्धमा पनि दुबैको अधिकार संविधानमा केहि हद सम्म सम्बोधन गरिएको छ ।

संसारका बहुसंख्यक देशका संविधानले पनि यो समस्यालाई कुनै न कुनै रुपमा संबोधन गरिेका छन् । नेपालको संविधानको प्रस्तावनामा नै कुनै किसिमको भेदभाव नहुने कुरा लेखेको छ भने धारा १७ को व्याख्यामा पनि जातीय आधारमा हुने भेदभावलाई हटाउनको निमित्त व्यक्तितग स्वतन्त्रतालाई पनि कम गर्न सक्ने कानून बनाउन सकिने उल्लेख छ ।

त्यस्तै धारा १८ ९३० ले राज्यले अन्य कुराको अलावा जातको आधारमा भेदभाव नगर्ने व्यवस्था गरेको छ । यस्तै धारा १९ ले जातीय विभेदलाई बढावा दिने समाचार आदीलाई बन्देज लगाउन सकिने व्यवस्था गरेको छ भने धारा २४ ले नीजि तथा सार्वजनिक स्थानमा छुवाछुत र जातीयताको आधारमा व्यवहार गर्न नपाईले उल्लेख छ । संविधानको २५ स्थानमा विभेदका कुरा गरिएका छन् र धेरै जसो ठाऊँमा जातीय विभेदका कुरा छन् ।

यो त भयो रुपाजीको पक्षमा भएका संबैधानिक व्यवस्थाका कुरा । अब जाऊँ सरस्वतीजी का पक्षमा भएका कुरा तर्फ ।

संविधानको धारा २५ ले संपत्तिको अधिकार दिएको छ । यस धारा अनुसार प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ ।

निजी सम्पत्तिको अधिकारका तीन वटा विशिष्ठता रहेका हुन्छन्ः

क. सम्पत्तिको मालिकमा आफ्नो सम्पत्ति कसरी प्रयोग गर्ने भन्ने निर्णय गर्ने एकल अधिकार हुन्छ ।
ख. सम्पत्तिबाट प्राप्त फाईदाको उपभोग गर्ने एकल अधिकार हुन्छ ।
ग . आपसी सहमतीको आधारमा सम्पत्ति बेच्ने वा साटासाट गर्ने अधिकार हुन्छ ।

विभिन्न देशमा आवश्यक्ता अनुसार यी सम्पत्तिको प्रयोगमा केहि अंकुश लगाईएको हुन्छ ।

उदाहरणको लागि कसैसंग घरमा ठूलो आवाज आउने स्पीकर छ तर उसले छिमेकीलाई कुनै खलल नपुर्याई स्पीकरको प्रयोग गर्नु पर्दछ । यहाँ बुझ्नु पर्ने कुरा के छ भने ति देशमा स्पीकरमा ठूलो स्वारमा गीत सुन्ने अधिकार भन्दा सान्त वातावरणमा वस्न पाउने अधिकार अगाडी रहेको छ । यसको निमित्त स्पष्ट कानूनहरु बनाईएका छन् (नेपालमा यस्ता कानून निर्माणमा ध्यान पुगेको देखिदैन) ।
रुपाजी र सरस्वातीजीको मुद्दामा पनि यहि कुरा लागु हुन्छ । सरस्वतीजीले आफ्नो घर (जुन उहाँको नीजि सम्पत्ति हो) आफूले चाहे अनुसार प्रयोग गर्न पाउने कि नपाउने ? पक्कै पनि पाउने ।

रुपाजीलाई के गर्ने त ?
हुन त संविधानको धारा १७ ले जातीय भेदभाव हटाउन व्यक्तिगत स्वतन्त्रतालाई पनि बंदेज लगाउन सकिने भनेको छ तर के यो धारा नीजि सम्पत्तिको हकमा लागु हुन्छ की हुँदैन ( यदि हुन्छ भने के त्यस्तो कानून बनेको छ) छैन भने त सरस्वतीजीको अग्राधिकार हुने भयो ।

अतः रुपाजी र सरस्वतीजीको बीचमा पैदा भएका जस्ता समस्याको समाधान भावनामा बगेर, बल प्रयोग गरेर, दवाब दिएर वा ठूलो स्वरमा बोलेर हुँदैन । यसको लागि अल्पकालको समाधानको निमित्त स्पष्ट कानूनको निर्माण गर्ने र लागु गर्ने तथा दीर्घकालको निमित्त जनचेतना शिक्षामा जोड दिईनु पर्दछ । अन्यथा यी समस्या सधैभरि रहि रहने छन् ।

अन्त्यमा, मेरो आफ्नो व्यक्तिगत अनुभवः ईन्डोनेसियामा मेरा दुई नजिकका मित्र छन् । उनिहरु श्रीमान श्रीमती हुन तर श्रीमान हिन्दु र श्रीमती मुस्लिम । मैले उनिहरुलाई तिमीहरु विवाह प्रेम विवाह हो की ईण्डोनेसियामा धर्मको आधारमा कुनै भेदभाव छैन भनेर सोधे ।

उक्त साथीका अनुसार ईण्डोनेसियामा थोरै मात्रामा चरमपन्थी मुसलमान भएता पनि समग्रमा हिन्दु मुसलमानमा भेदभाव छैन । अझ विशेषः रुपमा जाभा प्रान्तमा त यस्तो भेदभाव नै छैन । पछि मैले देखे इन्डोनेसियाका अरु मुसलमान साथीहरुले गायत्री मन्त्र पढेका हुन्थे भने हिन्दुले कुरान । यस्तो किसिमको मिलन आत्मा देखिकै मिलन हो र यो दीर्घकालिन हुन्छ ।
अर्थशास्त्री डा. दधि अधिकारीको फेसबुकबाट

प्रकाशित : १० असार २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह