Logo

Banner-news

कुलमानमाथिको भरोसा धर्मराउँदै, लकडाउनमा राहत दिने कि महशुसल वृद्धि ?


GDP Nepal
   १३ जेष्ठ २०७७, मंगलबार


काठमाडौं । साढे तीन वर्षअघि मुलुकमा लोडसेडिङको अन्त्य गरेर सर्वत्र वाहवाही बटुलेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति सर्वसाधारणको विश्वास धर्मराउन थालेको छ । कारण– विद्युत् महशुल वृद्धि ।

अहिले विद्युत् नियमन आयोगले महशुल वृद्धिको प्रक्रिया अघि बढाइरहेको छ । विद्युत् प्राधिकरणकै प्रस्तावअनुसार यसको प्रक्रिया अघि बढिरहँदा मुलुकमा जारी लकडाउन र कोरोना संकटका बेला जनताले राहतको अपेक्षा गरिरहँदा महँगीको मारमा पार्न खोजेको टिप्पणी भइरहेको छ ।

आयोगले सोमबार महशुल वृद्धिबारे सुनुवाईसमेत गरेको थियो । जसमा सरोकारवालाहरूले अहिलेको कोरोना महामारीको बेला विद्युत् महशुल वृद्धि हुनु उपभोक्ता र औद्योगिक ग्राहकका लागि घातक रहेको टिप्पणी गरेका छन् ।

कोरोना प्रभावित अर्थतन्त्रलाई सरकारले राहत प्याकेज नल्याएको भन्दै रुष्ट निजी क्षेत्र विद्युत् महसुल बढाउने प्राधिकरणको तयारीले आतंकित भएको छ । त्यसैले सुनुवाईमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरुले अहिलेको अवस्थामा कुनै पनि हालतमा बिजुलीको भाउ बढाउन नहुने भन्दै घटाउन सुझाव दिए ।

प्राधिकरण भने सेवा विस्तार, पूर्वाधार थप, कर्मचारीहरूको संख्या वृद्धिलगायतका कारणले प्राधिकरणको खर्च बढी देखिएकाले भाउ बढाउनै पर्ने अडानमा छ ।

प्राधिकरणले विद्युत् नियमन आयोगसमक्ष प्रस्तुत गरेको पुरानै महशुल वृद्धिको प्रस्तावको आधारमा सार्वजनिक सुनुवाई हुन लागेको हो । जुनबेला मुलुकको अवस्था सामान्य थियो । तर, लकडाउनका बेला यसरी भाउ बढाउन लागिँदा ऊर्जामन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसमेत मौन देखिएका छन् ।

औद्योगिक क्षेत्रमा महशुल वृद्धि गरिए पनि त्यसको अन्तिम उपभोक्ता सर्वसाधारण नै भएकाले महशुल वृद्धि अर्थतन्त्रका लागि नै घातक हुने देखिन्छ । प्रतिस्पर्धी लाभका लागि विद्युत् महशुल घटाउनु अनिवार्य देखिएको छ ।

निजी क्षेत्रका प्रतिनिधि तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाका शब्दमा महशुल नघटाएमा आयात बढ्ने भए पनि विद्युत्को सट्टा पेट्रोलियम पदार्थ उपयोग गर्नेतर्फ उद्योगी व्यवसायी जानुपर्ने अवस्था आउनसक्छ । अहिले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य सस्तो छ ।

प्राधिकरणले नै अपेक्षाअनुसार विद्युत् खपत हुन नसकेकाले खेर जाने अवस्था आएको बताइरहँदा महशुल वृद्धिमा लागिपर्नुलाई भने सबैले आलोचना गरेका छन् । प्राधिकरणको नाफा बढाउनकै लागि यसरी महशुल वृद्धि गर्दा कार्यकारी निर्देशक घिसिङप्रतिको विश्वास धर्मराएको हो ।

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह