Logo

चेम्बरले माग्यो १०% खोप र जीडीपीको ५% राहत प्याकेज, प्रधानमन्त्री सकारात्मक !




काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले मुलुकमा आयात गर्ने खोपमध्ये १० प्रतिशत निजी क्षेत्रलाई वितरण गरिनुपर्ने माग गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग बधाई भेट गर्दै चेम्बरले अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि भइ अर्थतन्त्रमा योगदान पुग्न जाने हुंदा निजी क्षेत्रलाई प्राथमिकताका आधारमा खोप उपलब्ध गराउन माग गरेको हो ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बरहरु, समस्त उद्योगी तथा व्यवसायीहरु र उद्योग तथा यातायात क्षेत्रका मजदूरहरुलाई लगाउने सुविधा उपलब्ध गराइ दिन आग्रह गरे ।

प्रत्युत्तरमा प्रधानमन्त्री देउवाले कोभिड खोप सम्वन्धी नेपाल चेम्वर अफ कमर्सको माग वारे सरकार सम्वेदनशील रहेको बताए ।

निकट भबिष्यमै यथेष्ट मात्रामा खोप उपलब्ध हुने उल्लेख गर्दै चेम्बरको माग सम्वोधन हुने बताए । उनले निजी क्षेत्रसँग सहकार्य गर्न आफू तयार रहेको भन्दै आर्थिक पुनरुत्थान प्याकेजका लागि चेम्बरको सुझाव उपयोगी हुने बताए ।

चेम्बर अध्यक्ष श्री राजेन्द्र मल्लको नेतृत्वमा चेम्वरका पदाधिकारीहरु तथा सदस्यहरुले प्रधानमन्त्री देउवा समक्ष भेटवार्ता गरेको थियो उक्त अवसरमा अध्यक्ष मल्लले अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न बिभिन्न सुझावहरु प्रस्तुत गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको समस्याबारे प्रकाश पारेका थिए ।

अध्यक्ष मल्लले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको व्यवस्था गरिनु पर्ने तथा सो रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनु पर्ने माग गरे । यस्तै, संसदमा बिचाराधीन आर्थिक विधेयकहरु पारित गरिनु पर्ने, आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशत देखि ५ प्रतिशतसम्म व्यवस्थापन गरिनु पर्ने माग पनि चेम्बरले गरेको छ ।

बजेटमा विनियोजन गरिएको पुँजीगत बजेट समयबद्ध तालिका अनुसार खर्च गरिनु पर्ने, कृषि क्षेत्रमा प्रोत्साहनमूलक कार्यक्रम ल्याइनु पर्ने, निर्यात अनुदान मूल्य अभिवृद्धिको आधारमा दिइनु पर्ने, विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने कार्यक्रमहरु ल्याइनु पर्ने, लगानीको स्रोतको वैधतामा सरलीकरण हुनु पर्ने, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न बिशेष प्राथमिकता दिन आग्रह पनि चेम्बरले गरेको छ ।

उक्त अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक कुमार मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छा तथा चेम्वरका सूचना तथा संचार समितिका सभापति श्री सन्तोष पाण्डेको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्