Logo

अर्थनीति

प्रधानमन्त्री ओलीलाई नेपाल एयरलाइन्सविरुद्ध कसले प्रयोग गर्दैछ ?


appharu
   ४ श्रावण २०७५, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका सम्बन्धमा सानातिना कुरा पनि ख्याल गरिरहेका छन् । निगमप्रति उनको चासोलाई नजिकबाट बुझ्नेहरुले लगावभन्दा पनि हस्तक्षेपका रुपमा लिएका छन् ।

ओलीले गत शनिबार सचिवहरुसँगको बैठकमा मुख खोलेरै सोधे– नेपाल एयरलाइन्सको नयाँ विमान किन उडिरहेको छैन ? ओलीको यो अप्रत्यासित प्रश्नबाट सचिव कृष्ण देवकोटा झस्किए ।

तर, नागरिक उड्डयन क्षेत्रका जानकारहरु भन्छन्– नेपाल एयरलाइन्सको जहाज सबै प्रक्रिया पूरा गरेर पनि उडाउन कम्तिमा डेढ महिना लाग्छ, जहाज किन उडेन भन्ने ओलीको प्रश्न नै गलत थियो ।
सचिव देवकोटा आफैं पर्यटन मन्त्रालयका अनुभवी नभएकाले उनले स्पष्ट जवाफ दिन सकेनन् भने प्रधानमन्त्रीका अगाडि मुखमुखै लागेर आफ्नो करिअर सिध्याउन पनि चाहेनन् ।

ओलीले सचिव देवकोटालाई भनेका कुरा जस्ताको तस्तै मिडियमा आइसकेको छ । ओलीले भनेका छन्– अर्बौं रुपैयाँ लगानी गरेर विमान किनेर ल्याएको छ । त्यो नयाँ विमान विमानस्थलमा थन्काएको छ । ऋणको व्याज चढिरहेको छ । अनि बिजनेश प्लान बनाउने, अनुमतिका प्रक्रिया मिलाउने, टेष्ट फ्लाइट गर्ने । काम गर्ने तरिका यही हो ? विमान आउनुभन्दा अघि काम गर्न कसले रोकेको थियो ?

प्रधानमन्त्री ओलीले यही प्रश्न निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलाई सोधेको भए उनले सबै टाइमलाइन खररर बताइदिन सक्थे । तर, देवकोटाले ओलीसँग ट्याकल गर्नै सकेनन् ।

प्रश्न ओलीको चासोभन्दा पनि नियतको हो । कुनै पनि जहाज एयरपोर्टमा ल्यान्ड गर्नेवित्तिकै भोलिपल्टै नियमित उडानमा पठाइहाल्नुपर्छ भन्ने ओली डक्ट्रीनले यस क्षेत्रमा काम गर्दैन ।

हवाइजहाज उडाउनका लागि पूरा गर्नुपर्ने मापदण्ड निकै लामो छ । यसअघि श्री एयरलाइन्सले ल्याएका जहाज उडाउन ३ महिनाभन्दा बढी लागेको इतिहास साक्षी छ । नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्ड पूरा गर्नैपर्छ, नत्र कालोसूचीमा पर्न सक्छ । त्यसै पनि नेपाल अझै यूरोपेली यूनियनको कालोसूचीमै छ ।

निगमले पनि नयाँ जहाजको बिजनेस प्लान बनाइसकेको छ र यसको प्रस्तुति ओलीअघिका सबै प्रधानमन्त्रीले पाइसकेका छन् भने यसको प्राविधिक पक्ष मिलाएर उडाउन सबै कार्ययोजना तयार नै देखिन्छन् ।

त्यसैले ओलीले भनेजस्तो यसमा ढिला भएको भने होइन । किनकी जहाज भनेको गाडीजस्तो किनेकै दिन चलाउन सकिने वस्तु होइन ।
अझ रमाइलो त के छ भने नेपालीमा एउटा उखान छ– साउनमा आँखा फुट्या गोरुले सँधै हरियोमात्र देख्छ । ओलीले सम्भवतः त्यस्तै हरियो देखेका छन् किनकी हिमालय एयरलाइन्सले पहिलो जहाज काठमाडौं ल्याएको १ साता नबित्दै ओली पहिलोपटक प्रधानमन्त्री हुँदा त्यसैमा चढेर चीन भ्रमणमा गएका थिए ।

ओलीका लागि क्यानले परक्षिण उडानसमेत नगरी अनुमति दिएपछि त्यसको सर्वत्र आलोचना भएको थियो । ओलीकै कारण हिमालयका लागि त्यसबेला प्राधिकरणका सबै नियम र अन्तर्राष्ट्रिय मापदण्ड निलम्बन गरिएको थियो ।

ओली पछिल्लो पटक चीन जाँदा पनि सोही कम्पनीको जहाज प्रयोग गरेको भन्दै आलोचित छन् । कतिपयले उनलाई हिमालयको ब्रान्ड एम्बेसडर पनि भन्ने गर्छन् ।

त्यसो त ओलीलाई नेपाल एयरलाइन्सबारे गलत ब्रिफिङ गर्ने पनि हिमालय एयरलाइन्सकै साहु अर्थात आङछिरिङ शेर्पा हुन् भन्नेमा पनि सन्देह छैन । निगमविरुद्ध हिजोआज विदेशी एयरलाइन्सभन्दा हिमालय एयरलाइन्स नै लागेको देखिन्छ ।

ओली र शेर्पाबीचको सम्बन्ध नङ र मासुको जस्तै छ । शेर्पाले उपहारमा दिएको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानमा ओलीले नेकपाको कार्यालय राखेका छन् भने महत्वपूर्ण निर्णय गर्दा ओली शेर्पाकै निवास रोज्ने गर्दथे ।

यसरी निगमप्रति गलत र आक्रामक रुपमा प्रस्तुत हुनुमा ओलीलाई हिमालय एयरलाइन्सले स्वार्थवस प्रयोग गरिरहेको निगमका अधिकारीहरुको बुझाइ छ ।

प्रकाशित : ४ श्रावण २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह