भक्तपुर ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र विकास र आर्थिक वृद्धिको मुख्य इन्जिन भएको बताएका छन् ।
शुक्रबार भक्तपुर उद्योग वाणिज्य संघको ३४औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ढकालले नेपाल जस्तो विकासोन्मुख देशहरुमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दे ढकालले भने “यो स्पष्ट छ कि निजी क्षेत्र विकास र आर्थिक वृद्धिको मुख्य इन्जिन हो। सफल व्यवसायीहरुले आर्थिक वृद्धि गर्छन्, रोजगारी सृजना गर्छन् र कर तिर्छन् जसबाट विभिन्न सेवा र लगानीको लागि फाइनान्स हुन्छ। विकासोन्मुख देशहरुमा निजी क्षेत्रको भूमिका झन ठूलो र महत्वपूर्ण हुन्छ। यसले ठूलो संख्यामा रोजगारी सृजना गरेको हुन्छ, लगानीको लागि रकम जुटाउँछ र सरकारी राजश्वमा महत्वपूर्ण योगदान गर्छ, त्यसैले निजी क्षेत्रसँग सहकार्य गर्दा विकास र आर्थिक वृद्धि सहज हुन्छ। ”

त्यस्तै, ढकालले कोरोना महामारीले केही समय शिथिल पारेको उद्योग व्यवसाय विस्तारै सुधारोन्मुख अवस्थामा रहेको जनाएका छन् ।
“विगत दुई वर्षभन्दा लामो समयदेखि कोभिड–१९ को महामारीबाट शिथिल रहेको उद्योग व्यवसाय विस्तारै सुधार हुने अवस्थामा रहेको थियो। तर अहिले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता समस्याले यसलाई थप मारमा पारेको छ। यसलाई तत्काल समाधान गरिएन भने यसले ठूलो र दीर्घकालिन समस्या पुर्याउनेछ,” उनले भने।










प्रतिक्रिया