काठमाडौँ ।
आजदेखि विद्युतीय राहदानी ई–पासपोर्ट जारी गरेको छ ।
राहदानी विभागले एमआरपी विस्थापन गरी आजबाट ई–पासपोर्ट जारी गर्न लागेको हो । आज परराष्ट्रमन्त्री डा.नारायण खड्काले त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गरी ई–पासपोर्टको सुरुवात गर्ने कार्यक्रम रहेको छ । सबैलाई ई–पासपोर्ट वितरण गर्न केही दिन लाग्ने भएकाले तत्कालै आफूसँग भएको एमआरपीले नै काम चलाउन सकिने विभागले जनाएको छ ।
राहदानी विभागले सन् २०२० डिसेम्बर २० मा फ्रान्सको आईडीआईएमआईए आइडेन्टी एन्ड सेक्युरिटीसँग २ अर्ब ४८ करोड रुपियाँमा ई–पासपोर्ट छपाइका लागि खरिद सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले १० महिनाभित्र ई–पासपोर्ट वितरणको काम सकेको हो ।
ई–पासपोर्टमा सानो विद्युतीय चिपको प्रयोग हुन्छ जसमा उक्त व्यक्तिको व्यक्तिगत विवरणसहित बायोमेट्रिक तथ्यांक राखिएको हुन्छ । यस सिस्टममा कम्प्यूटरले उक्त विवरण सजिलै हेर्नसक्छ । त्यस्तै, ई–पासपोर्टको प्रयोगले राहदानीको दुरुपयोगको घटनामा पनि कमि आउने विभागको विश्वास रहेको छ । ६४ पृष्ठको ई–पासपोर्टमा पहिलो र अन्तिम कभरको भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा हुनेछ । त्यसै गरी, पहिलो पृष्ठमा भने सगरमाथा, दोसोमा पोलिकार्बोनेट डाटा, तेस्रोमा लुम्बिनी, चौथो र पाँचौंमा राष्ट्रपति भवन, छैठौं र सातौ पृष्ठमा एकसिंगे गैंडाको तस्वीर रहने जानकारी गराइएको छ ।
प्रतिक्रिया