Logo

कर्पोरेट-बजार

रुकुम उडेको जहाज नेपालगञ्ज अवतरण, निगमले दियो स्पष्टीकरण


GDP नेपाल
   ८ मंसिर २०७८, बुधबार


काठमाडौँ ।

पाइलटले आफ्नो ड्यूटी आवर सकिएको भन्दै रुकुम अवतरण गर्नुपर्ने जहाज नेपालगञ्जमै ल्याण्ड गरेको विषयमा नेपाल वायु सेवा निगमले स्पष्टीकरण दिएको छ ।

सोमबार एयरलाइन्सका एक विमान चालकले रुकुम पुग्नु पर्ने जाहज नेपालगञ्जमै अवतरण गरेर यात्रुको विचल्ली बनाएका थिए । सोही विषयमा स्पष्टीकरण दिँदै निगमले विमान चालकको ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगञ्ज फर्किन नसक्ने भएकाले नेपालगञ्जसम्म मात्र उडान भर्ने निर्णय भएको बताएको छ ।

आज एक विज्ञप्ति जारी गर्दे निगमले अबदेखि यस्तो घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको छ ।

‘हवाइ उडान सम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन/नेपाल नागरिक उड्डयन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट डयुटी अवधि दैनिक १० घण्टाको सिमा निर्धारण गरेको कारण त्यस दिन रुकुम (सल्ले) उडान नगर्ने निर्णय भएको थियो ।’एयरलाइन्सका मिडिया सेल संयोजक अर्चना खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘रुकुम र नेपालगञ्ज जाने यात्रुहरुलाई काठमाडौंमै राखिरहनुभन्दा नेपालगञ्जसम्म पुर्‍याएर रुकुम जाने यात्रुहरुलाई निगमको नियमानुसार होटलमा राखी भोलिपल्ट बिहानै रुकुम पुर्‍याउनु पर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय पनि थियो ।’

 ‘आइतबार बिहान ६:१५ मा उडान हुने जहाजको लागि ५:१५ मा उडान कर्मचारीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बोलाइएको थियो तर मौसम प्रतिकुलताका कारण काठमाडौं–रुकुम (सल्ले) उडान हुन नसकेपछि उडान रद्द गरिएको  थियो । मौसममा क्रमिक सुधार आएपछि रद्द भएको उडान अपरान्ह २:१५ बजेको लागि पुन: सञ्चालन गर्ने तालिका तय भयो ।’विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि विमान चालक/परिचारक एवं यात्रुरुलाई फोन गरेर पुन: विमानस्थल बोलाइयो । तर उडान रद्द भएर घर फर्किएका यात्रुहरुलगायत सबैजना आइपुगेर उडान भर्न लाग्दा अपरान्ह २:५८ भएको थियो । काठमाडौं–रुकुम (सल्ले) उडान भरिसक्दा अपराह्नको कम्तिमा ५ बज्ने अवस्था थियो । अर्कोतर्फ, बिहान ५:१५ बजे देखि नै ड्युटी सुरु भएको विमान चालकको ड्युटी आवर ४ बजे पुरा भइसक्ने र तोकिएको ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगञ्ज फर्किन असमर्थ हुने अवस्था आएपछि नेपालगञ्जसम्म मात्र उडान भर्ने निर्णय भएको थियो ।’

प्रकाशित : ८ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह