Logo

अर्थनीति

दोस्रो चरणको आर्थिक सुधारमा निजी क्षेत्रको भूमिका बढाइने


GDP Nepal
   १५ मंसिर २०७८, बुधबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको आर्थिक सुधारमा निजी क्षेत्रको भूमिका बढाइने प्रतिवद्धता जनाएका छन् । उनले दोस्रो चरणको सुधारका लागि नीति नियम र आवश्यक पूर्वाधार निर्माणसँगै निजी क्षेत्रको भूमिका पनि बढाउने पक्षमा सरकार रहेको धारणा राखे ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिकोत्सव समारोहलाई बुधबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाललाई अबको ५ वर्षभित्र विकासशील र दुई दशकसम्ममा समुन्नत राष्ट्र बनाउनका लागि दोस्रो चरणको आर्थिक सुधार आवश्यक रहेको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले कोभिडका कारण मुलुकको अर्थतन्त्र निकै पछि परिसकेको र अब सुधार प्रकृया थालनी गर्न लामो समय नरहेको बताए ।

नेपालमा लगानी र व्यवसायको वातावरण बनाउनका लागि सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ। ‘सरकार अनावश्यक नियन्त्रणको पक्षमा छैन, बरु आवश्यक नियमन र सहजीकरणको पक्षमा छ,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यसैले देश तथा विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्छु । नेपालमा तपाईको लगानी र सम्पत्तिको सुरक्षा हुन्छ । सरकारले त्यसको ग्यारेन्टी लिन्छ ।’

मुलुकले अवलम्बन गरेको खुला बजार अर्थनीतिका कारण हासिल गरेको उपलब्धीलाई दोस्रो चरणको आर्थिक सुधारमार्फत संस्थागत गरिनुपर्नेमा उनले जोड दिए । त्यसका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य हुने उनको भनाइ छ ।

दोस्रो चरणको सुधारका लागि सरकार आवश्यक नीति, कानुन, रणनीति, योजना तथा संरचना निर्माणका लागि तयार रहेको उनको भनाइ छ । सरकार निजी क्षेत्रलाई अनावश्यक नियन्त्रण गर्ने पक्षमा नरहेको देउवाको भनाइ छ । नेपाललाई केही समयअघिमात्र संयूक्त राष्ट्रसंघको महासभाले विकासोन्मुखबाट विकासशील राष्ट्रमा बढुवा गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सुधारका प्रयास भइरहेको र विभिन्न नीतिगत व्यवस्थाले निजी तथा बाह्य क्षेत्रलाई थप सशक्त बनाउँदै लगेको बताएका छन् । ‘आर्थिक सुधारका लागि प्रयासहरु भइरहेका छन् । सार्वजनिक खरिद नियमावलीमा संशोधन, विदेशी मुद्रामा बैंक खाता खोल्ने लगायतका सुधारका प्रयास भइरहेको उनको भनाइ छ ।

कार्की र न्यौपानेलाई सेजन अवार्ड, ढकाल र लम्साललाई फेलोसिप
कार्यक्रममा यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार (सेजन अवार्ड) विद्युतीय माध्यमतर्फ हिमाल खबर डट कमका रमेशकुमार न्यौपाने र छापातर्फ अन्नपूर्ण पोष्टकी सुनिता कार्कीले प्राप्त गरेका छ्न् । सेजनले हरेक वर्ष वितरण गर्दै आएको सेजन अवार्ड यस वर्ष न्यौपाने र कार्कीले पाएका हुन् ।

यस्तै सेजनका पूर्व उपाध्यक्ष स्वर्गीय संजय न्यौपानेको स्मरणमा स्थापित संजय न्यौपाने फेलोसीप कारोबार दैनिककी पत्रकार सरस्वती ढकाल र सेजन–हाइड्रो सोलुसन फेलोसीप नागरिक दैनिकका पत्रकार हिमाल लम्साललाई दिइएको छ ।

कार्यक्रममा सेजनले आर्थिक पत्रकारिताका अग्रज राजीव उपाध्याय र डा. अच्युत वाग्लेलाई सम्मान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अवार्ड र सम्मान हस्तान्तरण गरेका थिए ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह