Logo

विकास / पूर्वाधार

खैरेनीटार–भिमाद सडकखण्ड दैनिक ९ घण्टा अवरुद्ध हुने


GDP नेपाल
   २६ मंसिर २०७८, आइतबार


तनहुँको खैरेनीटार–भिमाद सडकखण्ड दैनिक ९ घण्टा अवरुद्ध हुने भएको छ । सडक डिभिजन कार्यालय तनहुँले उक्त खण्ड मर्मतका लागि दैनिक बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सडक बन्द गर्न लागेको हो ।

उक्त सडकखण्डको दोभानमा सडक स्तरोन्नति गर्ने क्रममा हाल रहेको सडकलाई चौडाइ गर्नुपर्ने र त्यसका लागि केही समय सडक बन्द गर्दै निर्माण गर्नुपर्ने निमित्त डिभिजन प्रमुख कल्याण खड्काले जानकारी दिनुभयो । “निर्माण कार्य गर्दा दुर्घटना घट्न सक्ने सम्भावना देखिएकाले सडक चौडा पार्ने कार्य सम्पन्न नहुञ्जेल सडक अवरुद्ध हुनेछ”, उहाँले भन्नुभयो । सडक निर्माणका क्रममा सडक अवरुद्ध भए पनि आवश्यकताअनुसार करिब १ घण्टा बन्द हुने तथा ३० मिनेट सडक खोलिनेछ ।

उक्त सडकखण्ड गत साउनदेखि स्तरोन्नति सुरु गरिएको हो । उक्त कामका लागि कार्यालयले काठमाडौँस्थित श्री महालक्ष्मी÷हिमाली जेभीबीच सम्झौता गरेको थियो । खैरेनीटार–भिमाद–भुमरीघाट–कावासोती सडकको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको पाँच किलोमिटर सडक फराकिलो बनाएर नयाँ कालोपत्रे गरिनेछ ।

रु सात करोड ४५ लाख २१ हजारको लागतमा उक्त कामको ठेक्का लागेको छ । गत वैशाख १३ गते एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँसँग निर्माण सम्झौता भएको थियो तर वर्षा र कोरोनाको कारण समयमै काम सुरु हुन सकेको थिए । विसं २०७९ कात्तिक १३ गतेसम्म उक्त काम सम्पन्न गर्ने म्याद रहेको छ ।

खैरेनीटार–भिमाद सडकको ठाउँ–ठाउँमा कालोपत्रे उप्किएर ठूला–ठूला खाल्डा बनेका छन् । खाल्डामा वर्षाको पानी जम्दा पोखरी बनेको छ । शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार र म्याग्दे गाउँपालिका–५ थाङ्दीदेखि भिमादको पुलसम्म सडकको दुरावस्था छ । कतिपय स्थानमा सडकको कालोपत्रे देख्नै मुस्किल हुने अवस्थामा पुगेको छ । भिमाद नगरपालिकाको प्रवेशद्धारमा पनि सडकको हालत बिजोग छ ।

जिल्लाको भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाको प्रमुख सडक यही हो । नवलपुर, पाल्पा र स्याङजाका विभिन्न स्थानका सवारी र यात्रु यही सडक भएर आवतजावत गर्ने गर्दछन् ।

प्रकाशित : २६ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह