Logo

मुख्य समाचार

नेपाली उत्पादनलाई बंगलादेशमा सहज प्रवेश देऊ : परिसंघ


GDP नेपाल
   १ पुस २०७८, बिहिबार


काठमाडौँ ।

नेपालले कृषि एव अन्य उपभोग्य वस्तुको सहज पहुँचका लागि बंगलादेशसँग आग्रह गरेको छ । नेपाल उद्योग परिसंघले नेपाली वस्तुलाई बंगलादेशी बजारमा सहज पहुँच स्थापित गर्न, कर अवरोध हटाउन र राजस्वमा न्यून दर लगाउन बंगलादेशी उच्च अधिकारीहरू समक्ष आग्रह गरेको हो ।

ढाका चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रीमा आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बंगलादेशको जनघनत्वअनुसार ठूलो मात्रामा उपभोग्य वस्तुको आवश्यक पर्ने भएकाले नेपालबाट त्यस्ता वस्तु ल्याउन सहजता दिन आग्रह गरे । उनले नेपालका कृषि उत्पादनहरूका लागि बंगलादेश राम्रो बजार भएकाले त्यस्ता वस्तुको विना अवरोध निर्यातको सुविधा दिन पनि बंगलादेशी अधिकारीहरूलाई आग्रह गरे ।

कार्यक्रममा नेपालमा बंगलादेशी पर्यटक भित्र्याउने सम्भाव्यताबारे पनि छलफल भएको छ । अध्यक्ष अग्रवालले नेपालले काठमाडौं बाहिरका दुई सहर पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाले ढाकाबाट सिधा उडान स्थापित गरी बंगलादेशी पर्यटकलाई नेपाल लैजान सकिनेमा जोड दिए । नेपाल र बंगलादेशबीच जनस्तरमा सम्बन्ध विस्तारका लागि दुई देशबीचको सडक परिवहन सेवामा पनि जोड दिइएको छ । काठमाडौंबाट ढाकासम्म बस सेवा सञ्चालन गरी नागरिकस्तरमा सम्बन्ध विस्तारमा सहजीकरण गर्नुपर्ने विषयमा छलफल भएको छ ।

कार्यक्रमममा बंगलादेशका वाणिज्य सचिव तपन कान्ति घोषले दुई देशबीचको सुविधापूर्ण व्यापार सम्झौता टुंग्याउन आग्रह गरे । ‘सम्झौताको मस्यौदामा प्रारम्भिक छलफल भएको छ,’ उनले भने, ‘नेपालको तर्फबाट यसलाई अघि बढाउन तपाईंहरूले पनि पहल गर्नुस् ।’

परिसंघ डीसीसीआईबीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल उद्योग परिसंघ र ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीज(डीसीसीआई)बीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र डीसीसीआईका अध्यक्ष रिजवान रहमानबीच हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा दुवै संगठनले एक अर्को देशमा लगानीको वातावरणबारे जानकारी दिने, दुई देशका आर्थिक क्रियाकलापका लागि सहजीकरण गर्ने र दुवै देशका लगानी एवं व्यापारसँग सम्बन्धित सूचना आदानप्रदान गर्ने उल्लेख छ । समझदारीपत्रमा हस्ताक्षर गर्दै परिसंघका अध्यक्ष अग्रवालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, उद्योग लगायतका क्षेत्रमा ठूलो लगानीको संभावना रहेको र विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य हुन सक्ने बताए । समझदारीपत्रमा हस्ताक्षरसँगै भएको दुई देशका व्यवसायीहरूको छलफलमा बंगलादेशी उद्योगीले नेपालको जलविद्युत विकासमा चासो देखाएका छन् ।

कार्यक्रममा डीसीसीआईका अध्यक्ष रहमानले नेपाल र बंगलादेश सार्क, बिमस्टेकलगायतका साझा मञ्चमा सक्रिय रहेको र अब निजी क्षेत्रले पनि आर्थिक सम्बन्ध विस्तारमा जोड दिने बताए । उनले बंगलादेशले तीव्र आर्थिक विकासमा गरेको मेहनत नेपालका लागि पनि उदाहरणीय हुने बताए ।

परिसंघ अध्यक्ष अग्रवाल नेतृत्वको टोलीले यसअघि बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदसँग भेट गरेको थियो । भेटमा नसरुलले नेपालका निजी क्षेत्रसँग सिधै विद्युत खरिद सम्झौता गर्न तयार रहेको बताएका थिए । बंगलादेशका मन्त्री एवं उच्च पदस्थ अधिकारीहरूसँगको भेट एवं औद्योगिक क्षेत्र भ्रमणमा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा एवं उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे लगायतको उपस्थिति थियो ।

प्रकाशित : १ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह