Logo

मुख्य समाचार

‘पर्यटक निर्धक्क घुम्न पाउनु पर्छ’ : पर्यटन व्यवसायी


GDP नेपाल
   ५ पुस २०७८, सोमबार


पर्यटकीय नगरी पोखरामा घुम्न आउने पर्यटकले आफूलाई सुरक्षित महसुस गर्ने वातावरण तयार गर्न आवश्यक पूर्वाधार र पर्यटकमैत्री वातावरण आवश्यक रहेको पोखरा पर्यटन व्यवसायीले बताएका छन् ।

पोखरा पर्यटन परिषद् र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा ‘पोखरामा पर्यटन व्यवसायमा सुरक्षा व्यवस्थापन’ विषयक अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रमका सहभागी व्यवसायीले पर्यटकले सुरक्षालाई पहिलो प्राथमिकता दिने भएकाले भयरहित वातावरणमा हिँड्डुल गर्न वातावरणको प्रत्याभूत गराउनुपर्नेमा जोड दिनुभएको हो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रले विभिन्न कठिनाइको सामना गर्नु परिरहेको उल्लेख गर्दै पर्यटकका लागि शान्ति सुरक्षा पहिलो सर्त भएको बताउनुभयो । पर्यटकले घुमफिर गर्दा सुरक्षित महसुस गर्न सके मात्र पर्यटकीय गतिविधि बढ्ने भएकाले सुरक्षालाई प्राथमिकतमा राख्नुपर्ने उहाँको भनाइ थियो ।

कुनै पनि आपराधिक घटनाले सिङ्गो पर्यटन क्षेत्र नै बदनाम हुने भएकाले पर्यटक घुम्न आउँदा सुरक्षाको प्रत्याभूत गराएर निर्धक्क हिँड्न वातावरण तयार गर्नुपर्ने भट्टराईले बताउनुभयो । शान्ति सुरक्षाका लागि परिषद् समन्वय गरेर अघि बढ्न तयार रहेको उहाँले बताउनुभयो । लेकसाइडका अधिकांश सोलार बत्ती नबल्ने र साँझ परेपछि अन्धकार देखिने समस्या भएपछि व्यवसायीकै पहलमा रु १६ लाख खर्चेर बिजुली बत्तीको व्यवस्थापन गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो । सरकारले व्यवसायीको मर्का बुझेर प्रभावकारी नीति ल्याउन नसकेको जनाउँदै मौद्रिक नीतिको कार्यान्वयन नहुँदा व्यवसायीलाई निराश बनाएको भट्टराईले धारणा राख्नुभयो ।

गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक दिवेश लोहनीले पर्यटकीय नगरी पोखरालाई शान्ति सुरक्षा अमन चैनको प्रत्याभूतसहित सुरक्षित गन्तब्यको रुपमा चिनाउन पर्यटन व्यवसायीहरुको साथ र समन्वयको खाँचो रहेको भएकाले सो वातावरण तयारका लागि व्यवसायी र प्रहरीबीच समन्वयको खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायीको साथ र सहयोग हुने हो भने कुनै पनि अपराध लुक्न नसक्ने र आपराधिक घटना न्यूनीकरण हुन्छन् । होटलमा आउने पाहुनाको वास्तविक परिचय लिएर मात्र सेवा दिनुहोला ।”

पर्यटन व्यवसायीलाई होटलमा आउने पर्यटकको पहिचान खुल्ने कागजपत्र लिएर मात्र राख्न उहाँले आग्रह गर्नुभयो । एक जनाले बुकिङ गरेपछि पाँच÷छ जनालाई सहजरुपमा बस्न दिने, सीसी क्यामेराको व्यवस्थापन नगर्ने जस्ता कमजोरीले आपराधिक घटनाको अनुसन्धानमा चुनौती थपिएको लोहनीको भनाइ छ । उहाँले घटना सङ्ख्यामा हेरेर विश्लेषण गर्न नहुने भन्दै कुनै एक घटनाले सम्पूर्ण शान्ति सुरक्षालाई नै खलल पार्ने भएकाले त्यसो हुनु अगावै सावधानी अपनाउनुपर्ने बताउनुभयो ।

वडा नं ६ का वडाध्यक्ष जगत पहारीले शान्ति सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट अभाव रहेको र निजी क्षेत्रको पहलमा पनि भइरहेका कार्य प्रशंसनीय रहेको बताउनुभयो । उहाँले रात्रिकालीन व्यवसायबाट उत्पन्न समस्यालाई न्यूनीकरण गर्न निर्देशिका बने पनि त्यसको कार्यान्वयन हुन नसक्दा चुनौती थपिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापा शान्ति सुरक्षाको जिम्मा प्रहरीको मात्र भन्ने परम्परागत मानसिकता त्यागेर अपराध न्यूनीकरण साझा धारणासहित सबैको साथ सहयोग र समन्वयको खाँचो हुने बताउनुभयो । नागरिक बर्दी बिनाका प्रहरी भएकाले सचेत नागरिकबाट समाजलाई हिंसा र अपराधरहित बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

प्रकाशित : ५ पुस २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह