Logo

अर्थनीति

पाँच महिनामै १ खर्ब नाघ्यो निर्यात !


GDP Nepal
   ८ पुस २०७८, बिहिबार


काठमाडौं । दुई वर्ष अघिसम्म वार्षिक १ खर्ब निकासीको लक्ष्य पूरा नहुने नेपालको निर्यात व्यापार चालू आर्थिक वर्षमा भने पाँच महिनामै खर्ब नाघेको छ ।

भन्सार विभागका अनुसार साउनदेखि मंसिरसम्म नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरका बस्तु निकासी भएका छन् । निकासीको वृद्धिदर गत वर्षको सोही अवधिको तुलनामा १०५.६१ प्रतिशत रहेको छ ।

निर्यात बढे पनि आयातसमेत उल्लेख्य वृद्धि हुँदा व्यापारघाटा पनि ५४.७० प्रतिशतल बढेको छ । मंसिरसम्म व्यापारघाटा मात्रै ७ खर्ब ३५ अर्ब पुगेको छ ।

विभागका अनुसार पाँच महिनाको अवधिमा कुल ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँको वस्तु आयात भएको छ ।

नेपालको निकासी व्यापार बढ्नुमा भने कच्चा भटमासको तेल र पाम आयल ल्याएर प्रशोधन गरी भारततर्फ निकासी हुनु हो । स्वदेशी वस्तुको निकासी नहुने भएकाले निकासीको यो वृद्धिदरलाई स्वाभाविक मान्न सकिँदैन ।

विभागकाअनुसार २७ अर्ब २३ करोडको कच्चा सोयाविन तेल आयात भई प्रशोधन गरी २६ अर्ब ४० करोड रुपैयाँको निर्यात भएको छ । त्यस्तै १९ अर्ब १७ करोडको कच्चा पाम तेल आयात भई प्रशोधन गरी १९ अर्ब २ करोडको निर्यात भएको तथ्यांक छ ।

वस्तुगत रुपमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा उच्च छ । चालु आवको पहिलो चार महिनाको तथ्यांकअनुसार ७८ अर्बको पेट्रोलियम पदार्थ मात्रै भित्रिएको छ ।

पेट्रोलियम पदार्थपछि धेरै आयात हुने वस्तुहरुमा क्रमशः सवारीसाधन तथा पार्टपूर्जा, मेसिनरी तथा पार्टपूर्जा, कच्चा सोयाविन तेल, टेलिकम्युनिकेसन सामग्री, औषधि, कच्चा पाम तेल, एमएस बिलेट, सुन र चाँदी छन् ।

प्रकाशित : ८ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह