Logo

विकास / पूर्वाधार

बेँसीसहर–चामे सडक २७ वर्षपछि कालोपत्र गरिँदै


GDP नेपाल
   २९ पुस २०७८, बिहिबार


ट्रयाक खोलेको २७ वर्षपछि बेँसीसहर–चामे सडक कालोपत्र गरिँदै छ । स्थानीयवासीको श्रमदान र सरकारको सहयोगमा सडक कालोपत्र गर्न थालिएको हो ।

विसं २०५१ मा यस खण्डअन्तर्गत बेँसीसहरबाट खुदीसम्म मोटरबाटोको ट्रयाक खोल्ने काम भएको थियो । बेँसीशहर–चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको करिब सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्न पहिलो चरणको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुपोत्तम अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सडक चौडाइ गर्ने, पर्खाल निर्माण, कल्भर्ट हाल्नेलगायत काम भइरहेको छ ।” पाँच दशमलव पाँच मिटर सडक, एक दशमलव एक मिटरको नाली तथा एक मिटर चौडाइको पैदल बाटो निर्माण भइरहेको छ । सो काम सकिएपछि अस्फाल्ट प्रविधिको कालोपत्र गरिनेछ । पहिलो चरणको काम आगामी असारसम्म सकिने छ । आशिष अनेस्ट जेभी चितवनले २०८० असार मसान्तसम्म कालोपत्र सक्ने गर्ने गरी गत असारमा सम्झौता गरेको हो । सो कार्यका लागि कूल रु ५२ करोड ९६ लाख खर्च हुने अधिकारीले जानकारी दिनुभयो । वर्खाका कारण असोजदेखि मात्र काम सुरु भएको आयोजनाले जनाएको छ ।

बेँसीसहरदेखि खुदीसम्मको करिब साढे सात किलोमिटर सडकखण्डभित्र पर्ने बेँसीसहर नगरपालिका–६ स्थित ३०० मिटर लामो खरखरेभिरका लागि चाँडै बोलपत्र आह्वान गरिने भएको छ । खुदीबाट मनाङसम्म सडकको ट्रयाक नेपाली सेनाले २०६९ सालमा खोलेर डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको हो । उक्त ६५ किलोमिटर लामो सडकले लमजुङ र मनाङलाई जोडेको छ । । लमजुङतर्फ ३५ किलोमिटर तथा मनाङतर्फ ३० किलोमिटर सडक पर्छ ।

प्रकाशित : २९ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह