Logo

अर्थनीति

कोकाकोलाविरुद्ध ७ अर्ब ४३ करोड मागदावीसहित करछलीको मुद्दा !


GDP Nepal
   २७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौं । नेपालमा कोकाकोला नामक हल्का पेय पदार्थ उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी बोेटलर्स नेपाल लिमिटेडविरुद्ध राजस्व अनुसन्धान विभागले करछलीमा मुद्दा दायर गरेको छ ।

पाटन उच्च अदालतमा दायर गरिएको रिटमा कोकाकोलाबाट पुँजीगत लाभकर, त्यसमा लाग्ने आयकर र ब्याजसमेत गरी कूल ३ अर्ब ७१ करोड रुपैयाँ करछली गरेको जनाइएको छ । जसअनुसार बिगोको शतवप्रतिशत जरिवाना भराउनुपर्ने उल्लेख गर्दै ७ अर्ब ४३ करोड ६३ लाख मागदावी गरिएको छ ।

विभागका अनुसार बोटलर्स नेपालमा अधिकांश शेयर स्वामित्व रहेको दुवई स्थित कम्पनी कोकाकोला साब्को एशियाको शतप्रतिशत शेयर सन् २०१४ अक्टोबर २४ मा कोका कोला साब्कोले आयरलैण्ड स्थित यूरोपियन रिफ्रेसमेन्टलाई बिक्री गरेको कारणबाट वोटलर्स नेपाल लिमिटेडमा रहेको निहित शेयर स्वामित्वमा परिवर्तन भै सोबाट कम्पनिको नियन्त्रणमा परिवर्तन भए पनि त्यसको लाभकर नेपालले नपाएको भन्दै मुद्दा दायर गरिएको हो ।

कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टवीच शेयर कारोबार हुँदाको समयमा वोटलर्स नेपाल लिमिटेडको प्रतिकित्ता शेयरको स्वतन्त्र बजार मूल्य ३ हजार ८८३ रुपैयाँ हुने र सोमा कोकाकोला साब्कोको प्रतिकित्ता शेयर खरीद मुल्य ५ सय ३६ रुपैयाँलाई लागतको रुपमा घटाउँदा हुन आउने रकम ३ हजार ३४७ रुपैयाँ प्रतिकित्ता पूँजीगत लाभ हुने अनुसन्धानबाट पुष्टि भएको छ ।

विभागले सोही आधारमा कोकाकोला साब्को एशियाको बोटलर्स नेपालमा रहेको शेयर संख्या १४ लाख ८४ हजार ३०१ कित्ताको बिक्री वापत जम्मा ४ अर्ब ९६ करोड ७९ लाख ५५ हजार ४४७ रुपैयाँ पूँजीगत लाभ कायम हुने जनाइएको छ ।

यसमा आयकर ऐन, २०५८ को अनुसुची १ को दफा २(१) बमोजिम २५ प्रतिशतका दरले १ अर्ब २४ करोड १९लाख ८८ हजार ८६२ रुपैयाँ लाभकर निर्धारण गरिएको छ ।

सोही ऐनको दफा ७(१) वमोजिमको शुल्क (०.१ प्रतिशत) का दरले हुने ३ करोड ४१ लाख तथा दफा ११८ बमोजिमको ब्याज १५ प्रतिशतका दरले हुने ९ करोड ७८ लाख ६ हजार ६२२ रुपैयाँ, दफा ११९ बमोजिमको ब्याज १५ प्रतिशतका दरले हुने १ अर्ब १० करोड २२ लाख ६५ हजार ११५ रुपैयाँ र ऐ.ऐनको दफा १२०(ख) बमोजिमको शुल्क १ अर्ब २४ करोड १९ लाख ८८ हजार ८६२ रुपैयाँसमेत कुल विगो ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ राजस्व चुहावट भएको जनाइएको छ ।

बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा परिवर्तन भएको सम्बन्धमा उक्त कम्पनिले ठूला करदाता कार्यालय लगायत सम्बन्धित निकायहरुमा कुनै जानकारी नदिई तथा शेयर स्वामित्व परिवर्तन हुनुपूर्व तथा पछाडीको आयकर ऐनको प्रक्रया पूरा नगरेको जनाइएको छ ।

मुद्दामा बोटलर्स नेपालका अध्यक्ष शुक्ल वासनसहित ९ जना निर्देशक र प्रबन्ध निर्देशक प्रदीप पाण्डेसहित ८ कर्मचारीलाई प्रतिवादी बनाइएको छ ।

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह