Logo

अर्थनीति

लोडसेडिङको समयमा सञ्चालित उद्योगले अन्ततः डिमाण्ड चार्ज छुट पाउने


GDP Nepal
   २३ चैत्र २०७८, बुधबार


काठमाडौं । लोडसेडिङको समयमा सञ्चालित उद्योगले डिमाण्ड चार्ज छुट पाउने भएका छन् । औद्योगिक व्यवसाय ऐनले दिएको सुविधा प्रयोग गर्दै सरकारले नियमावलीमार्फत यो छुट सुविधा दिने भएको हो ।

औद्योगिक व्यवसाय नियमावली मंगलबार राजपत्रमा प्रकाशित भइसकेको छ । जसमा औद्योगिक व्यवसाय ऐनको दफा २९ को खण्ड (च) बमोजिम विद्युत आपूर्ति नभएको समयको आधारमा उद्योग सञ्चालनमा आएको एक वर्ष पूरा भएको कुनै उद्योगले विद्युत आपूर्ति नभएको समयको अनुपातमा डिमाण्ड चार्ज छुटको सुविधा लिन चाहेमा एकल बिन्दु सेवा केन्द्रमा निवेदन दिन सक्ने जनाइएको छ ।

नियमावलीमा यस प्रावधान बमोजिम कुनै निवेदन प्राप्त भएमा एकल बिन्दु सेवा केन्द्रले त्यस्तो उद्योगलाई विद्युत आपूर्ति नभएको समयको अनुपातमा डिमाण्ड चार्ज छुट दिनको लागि सिफारिससहित सम्बन्धित निकायमार्फत नेपाल सरकारमा अनुरोध गरी पठाउनु पर्ने उल्लेख छ ।

यसरी नेपाल सरकारसमक्ष सिफारिस गर्दा एकल बिन्दु सेवा केन्द्रले (क) उद्योगको जडित विद्युत क्षमता, (ख) उद्योगको विद्युत महसुल बक्यौताको स्थिति, (ग) विद्युत आपूर्ति गर्ने निकायले दिएको विद्युत आपूर्ति नभएको समय सम्बन्धी विवरण खुलाई पठाउनु पर्ने उल्लेख छ ।

यस्तै, डिमाण्ड चार्ज छुटको लागि सिफारिससहितको अनुरोध प्राप्त भएमा सम्बन्धित निकायले डिमाण्ड चार्ज छुटको लागि नेपाल सरकारसमक्ष पेश गर्नु पर्ने जनाइएको छ ।
यसरी प्रक्रिया बमोजिम डिमाण्ड चार्ज छुटको लागि सम्बन्धित निकायबाट पेश भएपछि नेपाल सरकारले उद्योगले तिर्ने विद्युत महसुलमा लगाई आएको डिमाण्ड चार्ज छुट दिन सक्ने जनाइएको छ ।

नेपाल सरकारबाट डिमाण्ड चार्ज छुट दिएको जानकारी एकल बिन्द सेवा केन्द्रले सम्बन्धित उद्योगलाई गराउनु पर्ने नियमावलीमा उल्लेख छ ।

औद्योगिक व्यवसाय ऐनको व्यवस्था यस्तो थियो

(च) विद्युत आपूर्ति नभएको समयको अनुपातका आधारमा उद्योगले तिर्ने विद्युत् महसुलमा लगाइआएको डिमाण्ड चार्ज तोकिएको आधारमा तोकिएको कार्यविधि अपनाई नेपाल सरकारले छुट दिन सक्ने,

प्रकाशित : २३ चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह