Logo

अर्थनीति

शोधनान्तर घाटा २५८ अर्ब, सात महिनाको वस्तु तथा सेवा आयात पनि नधान्ने


GDP Nepal
   २९ चैत्र २०७८, मंगलबार


काठमाडौं । चालू आर्थिक वर्षको समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको छ । विदेशी मुद्राको सञ्चितिले सात महिनाको वस्तु तथा सेवा आयात समेत नधान्ने स्थिति देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आई २०७८ फागुन मसान्तमा रु.११७१ अर्ब कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड कायम भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब १७ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब ४२ करोडले घाटामा रहेको थियो ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह