काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रूपमा सञ्चालनमा ल्याउने जनाएको छ । बोर्डले अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम तयार गर्दै दिगो र स्थापित रुपमा यो प्रणाली लागू गरिने जनाएको छ ।
बोर्डको ३० औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष रमेश हमालले पारदर्शी रुपमा बुक बिल्डिङ प्रणाली लागू गर्दै वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा भियाइने प्रतिबद्धता जनाए ।
अध्यक्ष हमालले एआईमा आधारित रेगटेकबाट चलखेल र अनुचित काम रोक्ने, अटोमेटेड इ–अक्सन सिस्टम तयार पार्ने तथा नियामकीय क्षमता बढाउने बताए ।
नियामकीय क्षमता अभिवृद्धिका लागि जनशक्ति सबलीकरण गर्ने उनको भनाइ छ । धितोपत्र सम्बन्धी कानुन विपरीत कार्य गर्ने संस्था तथा व्यक्तिलाई तत्कालमा कारबाहीको दायरामा ल्याइने अध्यक्ष हमालले प्रतिबद्धता जनाए ।
बोर्डका कार्यलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाउने उल्लेख गर्दै उद्यमी तथा नवप्रवर्तकका लागि प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल सञ्चालनका लागि अनुमति पत्र प्रदान गर्ने सेबोनको योजना रहेको उनले जानकारी दिए ।
यस्तै, साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबारका लागि एसएमईजका लागि आवश्यक व्यवस्था मिलाई व्यावसायिक कृषिजन्य उद्यमलाई पुँजी बजारमा आबद्ध गरिने, बजार सम्बन्धी जनचेतना अभिवृद्धि सहित समष्टिगत वित्तीय साक्षरता सुदृढ गर्ने नीति लिइने योजना उनले सुनाए ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारमा ज्ञान, जनचेतना, साक्षरताको खाँचो रहेको बताउँदै बोर्डले जनशक्ति परिचालन गर्नुपर्ने धारणा राखे । नयाँ लगानीकर्ता गाउँगाउँमा रहेकाले उनीहरूलाई जनशक्ति परिचालन गरी ज्ञान दिन आवश्यक रहेको उनको भनाइ छ ।
अर्थ मन्त्रालय नियामक निकायको स्वायत्तताको पक्षमा रहेको उनको भनाइ छ ।
प्रतिक्रिया