Logo

अर्थनीति

१७ वर्षपछि बल्ल मलेसियासँग नेपालको श्रम सम्झौता, शून्य लागत कार्यान्वयन होला ?


appharu
   १२ कार्तिक २०७५, सोमबार


काठमाडौं । मलेसियाले नेपाली कामदार लैजान थालेको १७ वर्षपछि आज दुई देशबीच श्रम सझौतामा हस्ताक्षर हुँदैछ ।

श्रम सम्झौताका लागि मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार नेपाल आएका छन् । सम्झौतापत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका संशाधनमन्त्री एम कुलासेगरानले हस्ताक्षर गर्ने कार्यक्रम छ ।

झन्डै १५ लाख नेपाली कामदारले रोजगारी पाइसकेको मलेसिया नेपालका लागि उपयुक्त श्रम गन्तव्य भए पनि आम्दानीका दृष्टिले भने आकर्षक नभै औषत रोजगारदाता मुलुक हो ।

यता, मलेसिया र नेपालबीच सोमबार हुने द्विपक्ष्ीाय श्रम समझदारी (एमओयू) सँगै खुल्ने निश्चित भएको छ । मलेसिया जाने नेपाली युवासँग विभिन्न बहानामा शुल्क उठाएको जनाउँदै सरकारले तत्कालका लागि नेपाली युवा मलेसिया नपठाउने निर्णय गरेको थियो ।

यससँगै ६ महिनापछि वैदेशिक रोजगारको आकर्षक गन्तव्य मलेसियामा पुनः रोजगारी सुचारु हुने भएको छ ।

मलेसिया जाने कामदार रोकिएसँगै दुवै देशले पटकपटक छलफल गरी एमओयू गर्ने निर्णय गरेसँगै नेपाली युवाका लागि मलेसिया पुनः खुल्ने भएको हो ।

पटकपटकको छलफलपछि असोजमा नेपालले सहसचिवस्तरीय प्रतिनिधिमण्डल पठाएर श्रम सम्झौताको मस्यौदालाई अन्तिम रूप दिएको थियो । सोही मस्यौदाका आधारमा दुई देशका मन्त्रिहरूले विशेष समारोहबीच काठमाडौंमा हस्ताक्षर गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

दुई देशबीच हुने एमओयूपछि मलेसिया जाने कामदारमाथि लाग्दै आएको सेवा सम्बन्धि विभिन्न किसिमका सिन्डिकेट तोडिने श्रम मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए ।

यस्तै, दुई देशबीचको समझदारीले बायोमेट्रिकका नाममा कामदारको स्वास्थ्य परीक्षण गराउँदै आएका ३९ वटा स्वास्थ्य संस्था बन्द हुने मन्त्रालयले जनाएको छ । अब मलेसिया जाने नेपालीलाई रोजगारदाताले नै भिसा, आतेजाते हवाई टिकट, मेडिकल खर्च र सेवा शुल्कको रकम समेत बेहोर्नेछन् ।

प्रकाशित : १२ कार्तिक २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह