Logo

अर्थनीति

कहिँ नभएको जात्रा पर्यटन बोर्डमाः अदालतमा बिचाराधीन मुद्दा बैठकको एजेन्डा !


GDP Nepal
   १७ श्रावण २०७९, मंगलबार


काठमाडौं । नेपाल पर्यटन बोर्ड पछिल्लो समय चरम विवादमा पर्दै आएको छ ।

कुनै बेला सार्वजनिक निजी साझेदारीको अनुपम उदाहरण मानिएको यो संस्था पछिल्लो समय भने कार्यकारी प्रमुखको धूमिल सार्वजनिक छविसँगै व्यक्तिवादी शैली र अहंकार एवं छलकपटकका कारण विवादको पर्याय बन्न थालेको छ ।

बोर्डको कार्यकारी प्रमुखमा तत्कालीन मन्त्री योगेश भट्टराईले स्वार्थवश नियुक्त गरेका पर्यटनसँग सम्बन्धित नै नरहेका धनञ्जय रेग्मीका कारण बोर्डको क्षयीकरण तीव्र गतिमा छ ।

पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु यतिबेला बोर्ड विघटन गरे पनि फरक नपर्ने र बोर्डजस्तो विवादित संस्थाका कारण नेपालको पर्यटकीय छवि गुम्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।

बोर्डका कार्यकारी प्रमुख रेग्मीलाई हटाउने तत्कालीन मन्त्री प्रेमबहादुर आलेको निर्णय कार्यान्वयन नहुँदै उनले अदालतबाट ल्याएको तत्काल निलम्बन नगर्नु भन्ने अन्तरकालीन अन्तरिम आदेश तथा त्यसयता उनले कानुनी दाउपेचमा दायर गरेका विभिन्न रिटले यतिबेला बोर्ड मुद्दा मामिलाको केन्द्र बनेको छ ।

आफ्नो व्यक्तिगत र संस्थाको छवि जतिसुकै धूमिल भए पनि पदमा बसिरहन चाहने कार्यकारी प्रमुख रेग्मीको विवादास्पद चरित्रको बचाउमा लागेका विभागीय मन्त्रालयका सचिवहरुका कारण बोर्ड झनै विवादमा फसेको छ ।

जीडीपीनेपाललाई प्राप्त एक विवरणअनुसार बोर्डका तत्कालीन अध्यक्ष महेश्वर न्यौपानेले जाँदाजाँदै राखेको साउन ११ गते निर्धारित बैठकको एजेण्डामा ‘कार्यकारी प्रमुखले सर्वोच्च अदालतमा दायर गरेको रिटका सम्बन्धमा’ भनिएको छ ।

अदालतमा विचाराधीन मुद्दामा पर्यटन बोर्ड सञ्चालक समिति बैठकमा छलफल हुनु र कुनै निर्णय हुनु भनेको अदालतको मानहानीको विषय हो भन्ने सामान्य चेत अढाइ दशक निजामति सेवामा बिताएका र गृहसचिवसमेत भइसकेका न्यौपानेलाई थाहा नभएको विषय होइन ।

तर, सचिव न्यौपाने रेग्मीजस्ता चतुर र कुटील व्यक्तिको चंगुलमा फसेर झन्डै यस विषयमा निर्णय गर्ने अवस्थामा पुगिसके पनि विभागीय मन्त्री जीवनराम श्रेष्ठको हस्तक्षेपका कारण बैठक नै रोकिने अवस्थामा पुग्यो र कुनै निर्णय हुन सकेन ।

पर्यटन बोर्ड स्रोतका अनुसार बोर्ड बैठकबाट रेग्मीमाथि छानबिनको निर्णय फिर्ता लिने र रेग्मीले यसवापत अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने गुप्त सहमति थियो । अदालतमा आफ्नै मुद्दाको म्याद बारम्बार तामेल गरी रेग्मीले लम्ब्याइरहेका छन् ।

पर्यटन मन्त्रालयमा मन्त्री परिवर्तनसँगै रेग्मी पद जोगाउन दौडधूप गरिरहेका छन् । यसअघि पोखराका मेयर धनराज आचार्यमार्फत विभागीय मन्त्रीलाई भनसुन गराइरहेका रेग्मी पछिल्लो समय पर्यटन व्यवसायी सुुमन पाण्डेमार्फत मन्त्री श्रेष्ठसँग लाइन मिलाउन लागिपरेको जानकारहरु बताउँछन् ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह