Logo

अर्थनीति

नवीकरणीय ऊर्जामा आयामः मुलुकभर ४ लाख ५० हजार बायोग्यास प्लान्ट


GDP Nepal
   १८ कार्तिक २०७९, शुक्रबार


काठमाडौं । नेपालले पछिल्लो समय नवीकरणीय ऊर्जाबाट उल्लेख्य लाभ हासिल गरिरहेको उल्लेख गर्दै सरोकारवालाहरुले यस क्षेत्रको प्रवर्द्धनमार्फत मुलुकमा समृद्धि हासिल गर्नसक्ने बताएका छन् ।

मुलुकभर हाल ४ लाख ५० हजार बायोग्यास प्लान्ट जडान भइसकेको र यसको लाभ गरिब तथा विपन्न वर्गले समेत लिइरहेको नेपाल बायोग्यास प्रवर्द्धन संघका अध्यक्ष प्रकाशचन्द्र सुवेदीले बताए । उनका अनुसार निजी क्षेत्रले यस क्षेत्रको विस्तारमा अनेकौं प्रतिकूलताका बीचमा पनि उल्लेख्य भूमिका निर्वाह गरिरहेको छ ।

संघको २६ औं वार्षिक साधारणसभाका अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष सुवेदीले भने, “बायोग्यास प्लान्ट जडान गरेवापत नेपालले कार्बन व्यापार गरिरहेको छ र यसमा अझै धेरै सम्भावना छ त्यसैले राज्यका नीतिहरु सरल र सहज हुनु आवश्यक छ ।”

कार्यक्रममा ऊर्जासचिव दिनेश घिमिरेले सरकारले सीमित स्रोत साधनका बाबजुद बायोग्यास क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको र यसको सम्भावनाबारे सरकार जानकार रहेको बताए । उनले ऊर्जाको खपतसँगै स्रोतको संरक्षण उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले बायोग्यासजस्ता क्षेत्र नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण रहेको भन्दै नीतिगत सुधारका लागि सरकारसँग आग्रह गरे । संसारभर हरित अर्थतन्त्रको महत्व बढ्दै गएको उल्लेख गर्दै नेपालले यसमा नमूना पेश गर्नसक्ने उनको भनाइ छ ।

प्रकाशित : १८ कार्तिक २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह