Logo

Banner-news

सहसचिवविरुद्ध उपसचिव ! मन्त्रीलाई जोगाउन उपसचिवको यस्तो विज्ञप्ति


appharu
   ८ माघ २०७५, मंगलबार


काठमाडौं । खानेपानी मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरका कारण आफू कामविहीन हुनुपरेको दावी गर्ने सहसचिव राजनराज पाण्डेको अभिव्यक्तिविरुद्ध मन्त्री मगरको सचिवालयले आपत्ति जनाएको छ ।

मन्त्रीका निजी सचिव तथा मन्त्रालयका उपसचिव गुणराज श्रेष्ठले विज्ञप्ति जारी गर्दै सहसचिव पाण्डेलाई अनुशासनहीनको संज्ञा दिएका छन् । मन्त्रीको सचिवालयको तर्फबाट विज्ञप्ति जारी गर्दै श्रेष्ठले पाण्डे पूर्वाग्रही तथा संघीयताविरोधी रहेको दाबी गरेका छन् ।

उपसचिव श्रेष्ठभन्दा सहसचिव पाण्डे माथिल्लो ओहोदाका निजामति कर्मचारी हुन् । तर, मन्त्रीको निजी सचिव भएकाले उनको विज्ञप्ति भने मन्त्री स्वयंले जारी गर्ने विज्ञप्तिको भन्दा पनि बढी गाली गलौजले भरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति…

नेपाल सरकारको सहसचिव पदमा कार्यरत राजनराज पाण्डेले माननीय खानेपानी मन्त्रीज्यूका सम्बन्धमा व्यक्त गरेका अभिव्यक्तिप्रति माननीय मन्त्रीज्यूको निजी सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । सहसचिवजस्तो सार्वजनिक पदमा आसिन व्यक्तिबाट यस किसिमका अभिव्यक्ति आउनु आफैंमा दुःखलाग्दो र लाजमर्दो कुरा हो । सहसचिव पाण्डेले माननीय मन्त्रीज्यूप्रति लगाएको आरोप वास्तवमा पूर्वाग्राही र अनुशासनहीनताको पराकाष्ठा हो । निज पाण्डेले आफूलाई जिम्मेवारी नदिइएकोप्रति जुन किसिमको मिडियामा प्रचारबाजी गर्नुभयो, यो कुरा आफैंमा कपोलकल्पित र भ्रामक रहेको स्पष्ट पार्न चाहन्छौं ।

यसअघि सहसचिव पाण्डेलाई नेपाल सरकारले प्रदेश नं. ७ को भौतिक पूर्वाधार मन्त्रालयको सचिव पदमा कामकाज गर्न सरुवा गरी पठाएको थियो । तर, प्रदेश नंं. ७ को उक्त मन्त्रालयमा निजले संघीयता विरोधी कुरा गरी अन्य कर्मचारीहरुलाई समेत प्रदेश कार्यालयमा बस्न हुँदैन भनी भड्काउने र आफूले सचिवजस्तो महत्वपूर्ण पदको कुनै जिम्मेवारी नै बहन नगरेकोले प्रदेश नं. ७ को सरकारले सामान्य प्रशासन मन्त्रालय मार्फत गत भदौ महिनामा खानेपानी मन्त्रालयमा निजलाई फिर्ता पठाएको थियो । निजको दरबन्दी मन्त्रालयमा नभएकाले यस मन्त्रालयमा निजको जिम्मेवारी तोक्न सकिने अवस्था थिएन । मन्त्रालय अन्तर्गतका अन्य निकायहरुमा शाखा तोक्न छलफल गर्दा निजले नमानेको कुरा स्पष्ट गराउँदछौं ।

अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीको आयोजनामा सन् २०१९ को मार्च १८ तारिखदेखि जापानमा हुन लागेको कार्यक्रममा निज पाण्डे आफ्नो निजी सक्रियतामा सहभागी हुनका लागि मन्त्रालय समक्ष फाइल पेश हुन आएको थियो । नेपाल सरकारको अनावश्यक विदेश भ्रमण नगर्ने नीति रहेको तथा मन्त्रालयले पनि अति आवश्यक काम बाहेक विदेश भ्रमण नगर्ने नगराउने निर्देशन गरेको हुँदा निजको विदेश भ्रमण सम्बन्धी फाइल मन्त्रीज्यूले स्वीकृत नगरिदिएपछि निजले मन्त्रीज्यूलाई उल्टै औंला ठड्याई कार्यालय बाहिर निस्किएको र यसको प्रतिशोधको रुपमा माननीय मन्त्रीज्यूलाई लाञ्छना लगाई अमर्यादित रुपमा मिडियाबाजी गर्दै अनुशासनहीन गतिविधि गरिरहेको हुँदा यस्ता भ्रामक समाचारको विश्वास नगर्न आम जनसमुदायमा अपिल गर्दछौं ।

प्रकाशित : ८ माघ २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह