काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको वास्तविक क्षेत्रमा आएको शिथिलता आगामी दिनमा क्रमशः कम हुँदै जाने बताएको छ ।
चालू आर्थिक वर्षको आठ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिकीकरणपछि केन्द्रीय बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा चालु खाता घाटा, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति लगायतका क्षेत्रमा उपलब्धि हासिल भएको उल्लेख गर्दै वास्तविक क्षेत्रमा आएको शिथिलता आगामी दिनमा क्रमशः कम हुँदै जाने प्रक्षेपण गरिएको छ ।
केन्द्रीय बैंकले विदेशी विनिमय सञ्चिति सुविधाजनक स्थितिमा रहेकोले बाह्य क्षेत्र सुदृढ भएको जनाएको छ । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.२० प्रतिशतले वृद्धि भई फागुन मसान्तमा १४ खर्ब १ अर्ब २१ करोड पुगेको जनाइएको छ ।
हालको विदेशी विनिमय सञ्चिति १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने जनाइएको छ ।
केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य सुधार भएको छ । समीक्षा अवधिमा चालु खाता ४४ अर्ब ३१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४ खर्ब ६० अर्ब ७२ करोडलेघाटामा रहको थियो ।
यस्तै, आठ महिनामा शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो ।
आठ महिनामा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ । यस अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भई ७ खर्ब ९४ अर्ब ३२ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८० प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६० प्रतिशतले घटेको थियो ।
प्रतिक्रिया