काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले पस्मिना व्यवसायमार्फत मुलुकको निकासी व्यापारलाई नयाँ आयाम दिन सकिने भन्दै यस क्षेत्रको विकासका लागि सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाल पस्मिना उद्योग संघको २१ औं साधारणसभालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै मन्त्री भुसालले पस्मिनाको मुख्य कच्चा पदार्थ ऊन नेपालमै उत्पादन गर्न सकिने भएकाले सरकार र निजी क्षेत्रले ऊन उत्पादनमा सहकार्य गर्नुपर्ने धारणा राखे ।
“नेपालको मुस्ताङदेखि सबैजसो हिमाली क्षेत्रमा भेडाच्याङ्ग्रा पालनको असीमित सम्भावना रहेकाले यसलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ,” मन्त्री भुसालले भने, “सरकार र निजी क्षेत्र हातेमालो गरेर यसमा अघि बढ्न सक्छ, आवश्यक सबै सहयोग गर्न सरकार तयार छ ।”
निर्यातजन्य उद्योगका चुनौतीहरु सबै मिलेर समाधान गर्नुपर्ने उल्लेख गर्दै मन्त्री भुसालले नीति नियममा रहेका जटिलता समाधानका लागि सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्यको आवश्यकता रहेको औंल्याए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले देश आयातमुखी भएकोमा चिन्ता व्यक्त गर्दै पस्मिनाजस्तै उच्च मूल्य अभिवृद्धि हुने वस्तुको निकासी बढाएर व्यापारघाटा कम गर्नुपर्ने धारणा राखे ।
अध्यक्ष मल्लले नेपालमा भेडाच्याङ्ग्रा पालनको सम्भावना रहेको र यसमा निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने उल्लेख गर्दै नेपाली पस्मिनाको गुणस्तर कायम गर्दै एकल ब्रान्डिङमा निकासी गरिनुपर्ने विचार व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा निर्यातमा अनुदानको सरलीकरण गर्नेजस्ता केही निर्यातमैत्री कार्यक्रम आएको उल्लेख गर्दै सय रुपैयाँमा फर्म अनलाइनबाटै स्थापना गर्न सकिनेजस्ता व्यवस्थाले निर्यात क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने धारणा राखे ।
यद्यपि, अर्थतन्त्रलाई चलायमान बनाउने सन्दर्भमा भने सरकार चुकेको उनको भनाइ छ ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले आफू पनि व्यावसायिक जीवनको सुरुवाती दिनदेखि नै पस्मिना व्यवसायसँग जोडिएको स्मरण गर्दै पस्मिना क्षेत्रलाई अढाई दशकअघिको अवस्थामा फर्काउन सरकार र निजी क्षेत्रले मेहनत गर्नुपर्ने धारणा राखे ।
उपाध्यक्ष ढकालले सन् २००० को दशकमा वार्षिक ११ करोड डलरको निर्यात हुने पस्मिना हाल ४ करोड डलरमा सीमित भएको तथ्यांक स्मरण गर्दै यस क्षेत्रको दिगो विकास गर्न सकेमा किसानदेखि व्यवसायी र मुलुक सबैले समान रुपमा लाभ लिनसक्ने धारणा राखे ।
निर्यातमा नीतिगत सरलीकरणको आवश्यकता औंल्याउँदै उपाध्यक्ष ढकालले १ः१० को अनुपातमा रहेको व्यापारघाटा कम गराउन पनि पस्मिनाजस्तै वस्तुको प्रवर्द्धन जरुरी रहेको बताए ।
कार्यक्रममा निर्यात व्यवसायी महासंघ नेपाल (फिन) अध्यक्ष शंकरप्रसाद पाण्डे, पस्मिना उद्योग संघका अध्यक्ष विजय दुगडलगायतले नेपाली पस्मिनालाई विगतको जस्तै अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सामूहिक पहलको खाँचो रहेको बताए ।
प्रतिक्रिया