Logo

मुख्य समाचार

रोजगारदाता परिषद सभापति श्रेष्ठद्वारा आईएलओ सदस्यहरू बीच सहकार्यको आह्वान


GDP Nepal
   ३१ जेष्ठ २०८०, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १११ औँ सम्मेलनलाई नेपालका रोजगारदाताको तर्फबाट मंगलबार साँझ जेनेभामा सम्बोधन गरेकी छन् ।

सम्मेलनलाई संवोधन गर्ने क्रममा रोजगारदाता परिषदका सभापति श्रेष्ठले कोभिड–१९ महामारीको पीडा सम्पूर्ण विश्वलेनै भोग्नु परेको र यो महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको बताइन् ।

कोभिड महामारीका कारण गएको तीन वर्षमा सामाजिक–आर्थिक गतिविधि र मानव जीवनमा गम्भीर असर पार्नुका साथै महामारिले विकास प्रक्रियालाई नै पछाडि धकेलिदिएको र आर्थिक मन्दीको झट्काको सामना विश्वले गर्नुपरेको सभापति श्रेष्ठको भनाइ छ ।

नेपालमा, कोभिड महामारीबाट भएको नोक्सानीको छिट्टै रिकभरीको अपेक्षा गर्दै गर्दा पुनः अर्थतन्त्रमा आएका केही आन्तरिक चुनौतीका कारण आर्थिक गतिविधि सुस्त भएको र अपेक्षाकृत अर्थतन्त्र विस्तार हुन नसकेको उनले बताइन् ।

विभिन्न चुनौतीहरुका बाबजुद पनि नेपालको निजी क्षेत्र व्यापार वृद्धि, मर्यादित रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको अभिवृद्धि, साना तथा मझौला उद्यमहरूको प्रवद्र्धन र व्यवसायको औपचारिकीकरण गर्न प्रतिबद्ध रहेको भन्दै सभापति श्रेष्ठले विश्व मञ्चमा प्रतिवद्धता जनाएकी छन् ।

सभापति श्रेष्ठले परिवर्तित सन्दर्भमा सूचना प्रविधिको बढ्दो प्रयोग, कामगर्ने पद्धतिमा आएको परिवर्तनबाट श्रम बजार र श्रम सम्बन्धमा पनि परिवर्तन आउने र यसबाट रोजगारी कटौती तथा नयां शीपयुक्त जनशक्तिको आवश्यकता पर्ने उल्लेख गरिन् । उनले कार्यस्थलको सुधार, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका क्षेत्रमा थप लगानी गर्नु पर्ने आवश्यकतामा जोड दिएकी छन् ।

परिषद्का सभापति श्रेष्ठले नेपालमा श्रम ऐन र सामाजिक सुरक्षा ऐन अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरू लागू भइरहेको जानकारी गराइन् ।

“नयाँ श्रम ऐनका प्रावधानहरू सबै कामदारहरूका लागि लागू हुनेछन् र यसले राम्रो कामको अवस्था सुधार गर्न, मर्यादित रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ,” उनले भनिन् ।

बाल श्रम उन्मूलन र डिसेन्ट वर्क कन्ट्री प्रोग्राममा राष्ट्रिय गुरु योजना विकास गर्न महासंघ परामर्श प्रक्रियामा सक्रिय रूपमा संलग्न भैरहेको जानकारी गराउंदै उनले सबै प्रकारका बालश्रम उन्मूलनका लागि रोजगारदाता संगठनले सबै सरोकारवालाहरूसँग नजिकबाट काम गरिरहेको पनि सो अवसरमा बताएकी थिइन् ।

सभापति श्रेष्ठले नीतिगत सुधार, सीप विकास, पेशागत सुरक्षामा महासंघको मुख्य जोड रहेको र सोही अनुसार कार्यक्रम पनि भैरहेको जानकारी गराएकी छन् ।

सभापति श्रेष्ठले नेपालको रोजगारदाता संस्थाले नीतिगत सुधार एवं केन्द्र, प्रदेश र स्थानीय सबै तहमा सामाजिक संवादको संयन्त्रको सवलीकरण गर्ने काम गरिरहेको र रोजगारदाता संस्थाले तय गरेका रणनीति तथा कार्यक्रमहरू रोजगारी सिर्जना, आर्थिक वृद्धि र व्यसायको दीगोपनमा केन्द्रीत रहेको उल्लेख गरिन् ।

१७६ भन्दा वढी मुलुकका सरकार, रोजगारदाता र ट्रेड युनियन प्रतिनिधिहरूको सहभागिता रहेको आइएलओ सम्मेलन जून ५ देखि शुरु भएको थियो भने सम्मेलन जुन १६ सम्म चल्ने छ ।

सम्मेलनमा महासंघको रोजगारदाता परिषद्का सभापति श्रेष्ठको नेतृत्वमा शिक्षा, सिप विकास तथा रोजगार समितिका सभापति गोपाल खनाल, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक कुमार अग्रवाल (टेमानी), महासंघका वरिष्ठ परामर्शदाता हंसराम पाण्डेले भाग लिइरहेका छन् ।

प्रकाशित : ३१ जेष्ठ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह