Logo

Banner-news

अर्बपति बैंकहरु विरुद्ध फैलँदो डढेलो, भन्छन्– एउटै बैंकको ३ अर्ब नाफा कसरी ?


GDP Nepal
   २४ माघ २०७५, बिहिबार


काठमाडौं । मुलुकका बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो नाफा बढाउने होडबाजीमा सेवाग्राही ऋणीमाथि ब्याजको भार थोपरेको भन्दै व्यवसायीहरु अहिले देशभर आन्दोलित छन् ।

८ अर्ब चुक्ता पुँजी भएको एउटै बैंकले वार्षिक ३ अर्बसम्म नाफा गर्ने तर त्यति नै लगानी भएको उद्योग व्यवसायले भने सञ्चालन खर्चसमेत धान्न नसक्ने अवस्था रहेको भन्दै विद्रोहको विकल्प नभएको व्यवसायीहरुको भनाइ छ ।

व्यवसायीहरुका अनुसार अहिले नेपालमा व्यवसायको लागत बढ्नुको मूल कारण अस्थिर ब्याजदर नै हो । ९ प्रतिशतमा कर्जा लिएका लगानीकर्तालाई अहिले बैंकले ब्याजदर बढाएर १४ प्रतिशतसम्म पु¥याइसकेको छ ।

पूर्वको मोरङ–सुनसरी औद्योगिक करिडोरबाट सुरु भएको यो आन्दोलन रुपन्देही र नेपालगन्जमा यस अघिदेखि नै भइरहेको छ भने पछिल्लो समय पोखरा र सुर्खेतमा पनि फैलिएको छ ।

व्यवसायीको आन्दोलनलाई काठमाडौंबाट नेपाल उद्योग वाणिज्य महासंघले पनि साथ दिइरहेको छ । महासंघका उपाध्यक्ष किशोर प्रधानले आन्दोलन अझै चर्काउने घोषणा गरिसकेका छन् । बैंकको व्याजदर नघटे उद्योगी–व्यवसायीहरु यसैलाई ईस्यु बनाएर थप आन्दोलित हुनुपर्ने अवस्था आउन सक्नेतर्फ उनले सरकारको ध्यानाकार्षण गराए ।

उनले भने– विराटनगरबाट सुरु भएको असन्तुष्टि अहिले देशको सबै ठाउँमा देखिएको छ । उद्योगी तथा व्यवसायीहरु आन्दोलित हुने अवस्था सिर्जना भएको छ । भर्खरै हामीले विराटनगरमा उद्योगमन्त्री मातृका यादव र प्रदेश नम्बर १ का मन्त्री र एक नम्बर प्रदेशका १६ वटै जिल्लाका उद्योग व्यवसायीहरुको उपस्थितिमा छलफल गर्यौं । माघ मसान्तभित्र सहमतिको वातावरण बनाउने भनिएको छ । भएन भने आन्दोलन हुनेछ ।

यता, बैंकले बढाएको ब्याजको विरोधमा सुर्खेतका व्यवसायी आन्दोलनमा उत्रिने भएका छन् । सुर्खेत उद्योग वाणिज्य संघले ब्याजदर सच्याउन तयार नभए बिहीबारदेखि बैंक बहिष्कार गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष धनबहादुर रावतले चर्को ब्याजदरका कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था निम्तिएको बताए । ९ प्रतिशतमा लिएको बैंक कर्जाको ब्याज एकाएक १३ प्रतिशतसम्म पु¥याइएको उनको भनाइ छ ।

यस्तै, पोखरा उद्योग वाणिज्य संले बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएकोमा आपत्ति जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै यही माघ मसान्तसम्म ब्याजदर समायोजन नभए निजी क्षेत्रका सबैजसो सङ्संस्थासँग सहकार्य गर्दै आन्दोलन गर्ने चेतावनी दिएको छ ।

व्यापार÷व्यवसाय गर्दा ५ देखि ७ प्रतिशत मुनाफा कमाउन पनि मुश्किल हुने तर त्यही पूँजी बैंक वा वित्तीय संस्थामा राख्दा १२ प्रतिशतसम्म ब्याज पाइने अवस्था सिर्जना हुनु अर्थतन्त्रका लागि गम्भीर विषय भएको अध्यक्ष दामु अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पोखराकै होटल तथा समग्र पर्यटन क्षेत्रलाई बैंकहरुले प्रदान गर्दै आएको कर्जाको ब्याजदर अस्थिर र चर्को भएको भन्दै त्यसलाई नियन्त्रण गर्न हस्तक्षेपकारी भूमिका निर्वाह गर्न पश्चिमाञ्चल होटल सं पोखराले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित : २४ माघ २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह