भगवती हाइड्रोपावरले असार २४ गतेदेखि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गर्ने भएको हो ।
स्थानीयका लागि जारी पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीले स्थानीयलाई १ सय अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी ११६ रुपैयाँ दरमा ५ लाख ७२ हजार ६५ कित्ता सेयर जारी गर्न लागेको हो ।
यसमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १३, १४, २६ र २७ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
त्यस्तै, सर्वसाधारणमा निष्कासन हुने ८ लाख ५८ हजार ९८ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
स्थानीयले यस कम्पनीको आइपीओमा जेठ ७ गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा जेठ २२ गतेसम्म आवेदन दिन पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने जेठ ७ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।
स्थानीयले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
प्रतिक्रिया