बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंक तथा वित्तीय संस्थाका लागि सुरक्षाको माग गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै सिबिफिनले बैंक तथा वित्तीय संस्था, सोको सम्पत्ती एवम् संस्थामा कार्यरत कर्मचारीहरुमाथि पछिल्लो समय भौतिक रुपमै आक्रमण हुन थालेपछि सूरक्षाको माग गरेको हो । प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव, प्रहरी महानिरिक्षकलगाएत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसमक्ष सुरक्षाको माग गर्दै सिबिफिनले ध्यानाकर्षण गराएको हो ।
पछिल्लो समय विभिन्न समूहले बैंक तथा वित्तीय संस्थाको विश्वसनियतामा हानी नोक्सानी पुर्याउने, बैंकिङ व्यवसायमा अवरोध सिर्जना गर्ने, कर्जाको साँवा व्याज नतिर्न दुरुत्साहन गर्ने र संस्थामा कार्यरत कर्मचारीहरुलाई भौतिक आक्रमण गर्ने गरेको सिबिफिनले जनाएको छ । यस्तै, सरकारले सुरक्षा प्रबन्ध मिलाउन नसकेमा बैंक तथा वित्तीय सेवा प्रवाह गर्न असमर्थ हुने चेतावनी समेत दिएको छ ।
प्रतिक्रिया